सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन

RSS २०७९-०४-०४ ०८:२८:०० बजे

काठमाण्डौ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आज सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेको हो ।

सो अवसरमा श्रममन्त्री शेरबहादुर कुँवरले मातहतका कार्यालयले अनलाइनबाट सेवा प्रवाहको थालनी गरिसकेको अवस्थामा उक्त सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । उहाँले प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज ढङ्गबाट सेवाग्राहीसँग पुग्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

“कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व हो”, उहाँले भन्नुभयो, “सबै सेवाग्राहीलाई सरकार भएको अनुभूति हुनेगरी काम गर्नुस् ।” प्रविधिको विकाससँगै सेवा प्रवाहमा सहजीकरण भइरहेको जनाउँदै उहाँले नयाँ प्रविधि प्रयोग गरी जनतालाई सुविधा दिन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

वैदेशिक रोजगार कार्यालयले अहिले अनलाइबाटै सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्दै आएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिन थालेसँगै कार्यालयमा हुने भीड अन्त्य भएको छ । छलफलमा मन्त्रालयका सचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुरल विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलगायतका अधिकारीको सहभागिता रहेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।