वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

RSS २०७९-०४-०५ ०९:१८:०० बजे

काठमाण्डौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताउनुभयो । वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न  खर्च भएको यथार्थ प्रस्तुत गर्दै उहाँले विप्रेषणको सही सदुपयोग गर्ने नीति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई भरपर्दो, मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकारको तर्फबाट अधिकतम प्रयास गरिरहेको बताउनुभयो । उहाँले सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिका पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै कूल छ लाख श्रमिक रोजगारीको खोजीमा विदेशिएको तथ्याङ्क दिँदै उहाँले हालसम्म ४६ लाख श्रमिकले श्रम स्वीकृति लिएको जानकारी दिनुभयो ।

वैधानिक मार्गबाट विप्रेषण भित्र्याउनका लागि सरकारले धेरै काम गरिसकेको जानकारी दिँदै सचिव अर्यालले लगानी गर्दा छुट दिने तथा ब्याज बढी दिनेलगायत प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले नेपालको समृद्धिका लागि वैदेशिक रोजगारीमा रहेका श्रमिकको ज्ञान, सीप र क्षमता सदुपयोग गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । पूर्वमहान्यायाधीवक्ता रमेश बडालले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि थप प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने तयारीका साथ कोष अगाडि बढेको बताउनुभयो । कार्यक्रममा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सामाजिक सुरक्षाका कार्यक्रममा जोड्नका लागि ‘पाइलटिङ’ गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले  विप्रेषण भित्र्याउने कम्पनीलाई पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यले दक्ष कामदार पठाउन सकिएको खण्डमा हाल आर्जन गरेको भन्दा बढी कमाइ गर्नसक्ने बताउनुभयो ।

गैरआवासीय सङ्घ र सामाजिक सुरक्षा कोषबीच त्यस अवसरमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ उक्त हस्ताक्षर भएको हो । कोषका कार्यकारी निर्देशक ज्ञवाली र सङ्घका तर्फबाट कुल आचार्य र बद्री केसीले हस्ताक्षर गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।