वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने संस्था कारबाहीमा

RSS २०७९-०४-१७ ११:२२:०० बजे

काठमाण्डौ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई रु ५० हजारका दरले जरिवाना गराइएको विभागले जनाएको छ । 

यही साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले ती संस्थालाई जरिवाना गराइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो । ती संस्थाले विज्ञापन प्रकाशन गरे नगरेकोबारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको थियो । 

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ (१) मा कुनै पनि इजाजतपत्रवालाले वैदेशिक रोजगारीसम्बन्धी मागको विज्ञापन प्रकाशन नगरेमा वा स्वीकृति विना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई रु ५० जरिवाना गरी त्यस्तो विज्ञापन रद्द गर्न सक्ने प्रावधान छ । 

ऐनअनुसार कुनै पनि मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको विज्ञापन प्रकाशित गर्नुपर्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।