गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज

अर्थबिट २०७९-०४-१७ ११:३०:०० बजे

काठमाण्डौ।लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सनुराजा शाक्यले जानकारी दिनुभयो । 

संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो । सोही प्रस्ताव यसअघि स्वीकृत गरिएको थियो । तर, लुम्बिनी विकास गुरूयोजनाविपरीत रहेकाले सो निर्णय परिषद् बैठकले खारेज गरिदिएको सदस्य सचिव शाक्यले बताउनुभयो । परिषद् बैठकले गौतमबुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृतका लागि अन्तर्राष्ट्रिय विज्ञ समावेश गरेर नोमिनेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृतका लागि प्रक्रिया अघि बढाउन गठित समितिको प्रस्तावमा अष्ट्रेलियाका डङकन मार्सललाई विज्ञको रुपमा समावेश गर्ने निर्णय भएको सदस्य सचिव शाक्यले बताउनुभयो । परिषद् बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नोभेम्बरमा गर्ने निर्णय गरेको छ ।

यसैगरी लुम्बिनी र पाल्पाको तानसेनलाई बुद्ध सर्किटमा जोडेर लैजाने निर्णय पनि भएको छ । सदस्य सचिव शाक्यका अनुसार बैठकले दुई महिनाभित्रै लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ ।  बैठकमा परिषद्का अध्यक्ष श्रेष्ठले लुम्बिनी र तिलौराकोटका पर्यटकीय सम्पदा र पुरातात्विक क्षेत्रको  विकासका लागि पुरातत्व विकाससँग समन्वय गरी मन्त्रालयस्तरबाटै काम अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।