हेटौँडादेखि काठमाण्डौ छोटो दूरीको सडक रु ७५ करोडको लगानीमा निर्माण सुरु

RSS २०७९-०४-२४ १७:४९:०० बजे

काठमाण्डौ।मकवानपुरको हेटौँडादेखि काठमाण्डौ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी  पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ ।

 सो सडकखण्डको रु ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ । आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड गरेर ठेक्कामार्फत काम भइरहेको छ । हेटौँडादेखि काठमाण्डौ बीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्ड गरेर २० किमी सडकको रु ७५ करोड लागतमा निमार्ण कार्य भइरहेको सो आयोजनाले जनाएको छ । 

आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्ररूपमा भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिनुभयो ।

मकवानपुर सडकखण्डमा रु ४३ करोड ४१ लाख १६ हजारको लागतका रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौँसँग सम्झौता गरेर काम सुरु भएको बताइएको छ । सो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता  गरिएको इन्जिनियर रन्जितले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौँ सडकखण्डमा रु ३१ करोड ९३ लाख ११ हजारको लागतमा आठ किलोमिटर रौता रामसागर जेभी काठमाडौँले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ । निर्माण कम्पनीसँग २०७८ असार ११ गते सम्झौता गरेर २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ । हाल दुवै सडकखण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, पिच गर्ने, वाल निर्माण गर्ने तथा १० मिटर बाटो फराकिलो गर्नेलगायतका काम भइरहेको छ । पचासी किमी सो सडकअन्तर्गत  हेटौँडादेखि काठमाण्डौसम्म साना सवारी साधनहरु मात्र गुडिरहेको सो सडक निर्माण भएमा ठूला सवारी साधनहरु पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।