बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

RSS २०७९-०४-२७ १८:२५:०० बजे

काठमाण्डौ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व दाबी गरेपछि यस्तो खुलासा भएको हो । 

बाल मन्दिरको नाममा रहेको कित्ता नम्बर ११६४ मा पर्ने १ रोपनी सात आना ३ पैसा दुई दाम जग्गामा बिना अनुमति व्यवसायिक भवन बनाएर भाडामा लगाइ अनाधिकृत प्रयोग गरेको जनाउँदै बाल मन्दिरले लिखित रुपमा जग्गा फिर्ता गर्न माग गरेको छ । नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा अनुमतिबिना व्यापारिक भवन तथा बालबालिकाको खेलमैदान निर्माणगरी भाडामा दिन लागेको बारे मौखिक जानकारी प्राप्त भएपछि रोक्का गर्न पत्राचार गर्दा हालसम्म प्रत्युत्तर प्राप्त नभएको बाल सङ्गठनका कार्यकारी अधिकृत अजयकुमार साहले लेख्नुभएको पत्रमा उल्लेख गरिएको छ । जिल्ला मालपोत कार्यालय खोटाङले सो जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको पुष्टि गरेको छ ।

सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत फागुन–३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । 

निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क विसं २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । 

सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ सटर र माथिल्लो तलामा रेष्टुराँ हल, विभिन्न ‘स्टल’ सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । भाडावापत मासिक न्यूनतम रु दुई लाख ९७ हजार राजस्व सङ्कलन गर्ने स्रोतका रुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ ।

चिल्ड्रेनपार्कका लागि केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्बस राईड (पिङ), स्वीङराईड लगायतका संरचना तयार पारिएको छ । यद्यपि, सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको मैदान गत असार पहिलो साता सामान्य वर्षाकै कारण भासिएपछि निर्माण कम्पनीले मर्मत गरेको थियो । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले गत फागुन२ गते न्यूनतम रु दुई लाख ९७ हजारको ठेक्का आह्वान गरेको थियो । 

नगरपालिकाको लागि आम्दानीको स्रोत बनाउने उद्देश्यले निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको भाडा अझै लाग्न सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७७ भदौ २ गते सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि सरकार मन्त्रीस्तरको गत माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।