बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशङ्का

अर्थबिट २०७९-०५-०५ ०४:०९:०० बजे

काठमाण्डौ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् ।

बीमा समितिद्वारा शनिबार काठमाण्डौमा आयोजित नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबीन गरी टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए । 

अध्यक्ष सिलवालले भने, “बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानून विपरितका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोशिस गरिरहेको छ । करोडौंको बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशङ्का भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ । तर व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन । अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाउनुपर्ने बेला आएको छ । प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिवद्ध छ ।”

“बीमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न सक्दैन । फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्छन् । जोखिमाङ्कनमा समस्या छ । फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्ने गरिएको पाइन्छ,” अध्यक्ष सिलवालले भने, ”जीवन तथा निर्जीवन बीमामा कहाँ कहाँ कमी कमजोेरी छन्, बीमा समितिले बुझेको छ र सोही अनुसार अनुसन्धान र कारवाही अगाडि बढाएको छ । यसमा प्रहरीको पनि सहयोग आवश्यक छ । बीमा व्यवसायमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नवीनतम औजार एवम् उपकरणको विकास तथा प्रयोगमा बीमा कम्पनीहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ ।”

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिंदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरू समेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

बीमा समितिका उपनिर्देशक विरोध भट्टले बीमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था, दाबी भुक्तानीमा देखिएका समस्या र समाधान सम्बन्धी प्रस्तुति दिएका थिए । 

यसैगरी, जीवन बीमक संघका तर्फबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले  जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपाय र नेपाल बीमक संघका तर्फबाट सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवारले निर्जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी प्रस्तुति दिए । 

कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगी लगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औंल्याए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र पूजन ढुङ्गेल (अधिकारी), नेपाल प्रहरी प्रधान कार्यालय र मातहतका निकायहरूका प्रमुख तथा पदाधिकारीहरू र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।