भोजपुुरको ‘गोठेसिं होमस्टे’ले आकर्षण बढाउँदै, अर्गानिक स्वाद र सत्कारले पर्यटकसमेत लोभ्याउँदै

निरोज कोइराला २०७९-०५-२० ०९:३१:०० बजे

काठमाण्डौ।भोजपुरमा खुलेको होमस्टे नपुग्ने प्रायः कमै होलान् । यहाँको अर्गानिक स्वाद र सत्कारले आन्तरिक मात्र नभएर बाह्य पर्यटकलाई समेत टेवा पुगेको छ । 

दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुको श्यामशिला भन्ने स्थानमा सञ्चालनमा आएको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकै सञ्चालनमा रहेकाले यो होमस्टेमा आउने जानेको सङ्ख्यासमेत बढ्दै गएको छ । 

कोरोना सङ्कटका कारण केही समय होमस्टेमा आउने जानेको सङ्ख्यामा कमी आएको भए पनि अहिले भने यहाँ फेरि उल्लेख्यमात्रामा मानिसको आवतजावत हुने गरेको छ । नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । 

फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ पनि प्रमुख रोजाइमा परेको घुम्नका लागि त्यहाँ पुग्नुभएका स्थानीयवासी दीवराज भारतीको भनाइ छ । भारतीले भन्नुभयो, “स्थानीयस्तरमा सञ्चालनमा आएको यस्तो पर्यटकीय क्षेत्रमा खुलेको होमस्टेको संरक्षण र सम्वद्र्धनमा सबै पक्ष जुट्नुपर्छ । 

यो होमस्टे सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा पर्छ । मीठो किराँती संस्कारको न्यानो अतिथि सत्कार, मीठो अर्गानिक खाना र आरामदायी सस्तो बासस्थानबाट सुन्दर प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे जिल्लामा पर्यटकीय गन्तव्य बन्दै गइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतको भनाइ छ । 

“प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेका लागि यो होमस्टे एकदमै राम्रो रहेछ”, पारिवारिक वातावरण, किराँती संस्कृति र स्वादिष्ट परिकारले होमस्टेको बसाइ रमाइलो भएको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । 

अध्यक्ष मोक्तानले भन्नुभयो, “भोजपुरवासी तथा बाहिरबाट आउने पनि एकपटक भए पनि यो होमस्टे पुग्नुभएकै हुन्छ, सडक सञ्जालमा जोडिएकाले पनि यो होमस्टे सुविधा सम्पन्न छ ।” कुनै कार्यक्रम होस् वा रमाइलो गर्न लागि पनि यो ठाउँ उपयुक्त रहेको स्थानीयवासीको धारणा छ । 

होमस्टेमा अर्गानिक स्वाद र सत्कार पाइने गरिएकाले यो होमस्टेले आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पु¥याएको छ । होमस्टेलाई टेम्केमैयुङ गाउँपालिकाका साथै प्रदेश सरकारले समेत सहयोग गरेको सञ्चालक प्रकाश राईले बताउनुभयो । यहाँ घुम्न आउने पर्यटकका लागि एकमात्र आरामदायी बिसौनी बनेको गोठेसिं होमस्टेमा बस्न नचाहने कमै हुन्छन् । सन्ताउन्न रोपनी जग्गामा सञ्चालनमा रहेको होमस्टेमा टेम्के र चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्ने पर्यटकको आगमन पनि हुने गरेको छ । 

होमस्टेमा अहिले व्यवस्थापन गर्दै बासघर, कटेज थप्न सुरु गरिएको छ । पर्यटकको स्वादका लागि माछाको परिकारका लागि सञ्चालक राईले पोखरी बनाएर ट्राउट माछा पाल्ने हुनुभएको छ । “स्थानीयस्तरमा उत्पादित सामग्रीलाई सदुपयोग गर्दै, कृषि पर्यटनको प्रवद्र्धन र स्थानीयवासीलाई पनि रोजगारीको अवसर दिलाउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याएको हूँ”, सञ्चालक राईले भन्नुभयो । 

होमस्टेलाई प्रवद्र्धन र प्रोत्साहन गर्न टेम्केमैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँचसमेत पु¥याएको छ । गाउँपालिकाले होमस्टेसम्म बिजुली बत्ती र सडक पु¥याउन मद्दतसमेत गरेकोे छ । यही क्षेत्रमा रहेको सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरु, कञ्चनजङ्घा, मकालुलगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमशृङ्खला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ति प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सकिन्छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।