वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती

RSS २०७९-०५-२२ ०९:४४:०० बजे

काठमाण्डौ।नेपाल–भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ । 

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका अहिले अलपत्र परेको छ । करिब आठ वर्षदेखि निर्माण भइरहेको बेलहिया–भैरहवा सडकखण्डको बेलहियामा अहिलेसम्म सडक बनिसकेको छैन । मुख्य सडकमै ठूला–ठूला खाल्डा बनेका छन् ।

करिब एक किलोमिटर सडक नबन्दा पर्यटकले सास्ती त पाएकै छन् बेलहिया नाका हुँदै भित्रिने मालबाहक ट्रकहरु पनि दुर्घटनाको जोखिममा रहेका छन् । 

बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाअन्तर्गत बेलहियादेखि बुटवलसम्म सडक निर्माण भएको छ । अधिकांश क्षेत्रको सडक निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको तीन वटा स्थानीय तह क्षेत्रअन्तर्गतको निर्माण सम्पन्न गरेको छैन ।  बिरुवाले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पडसरी र बुटवल उपमहानगरको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो ।

हिलो र धुलोका कारण पर्यटक मात्र नभई यहाँ व्यवसाय गर्ने व्यवसायीहरु पनि प्रभावित बनेको स्थानीयवासी विष्णु शर्माले बताउनुभयो । “दिनभरि यात्रु र मालवाहक गाडीहरुको भिडभाड हुन्छ”, उहाँले भन्नुभयो, “जाम, धुलो र हिलोका कारण व्यवसायमै असर पारेको छ ।”

बिरुवा कन्स्ट्रक्सनले यी सडक बनाउन आनाकानी गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाले बेलहिया क्षेत्रमा अलपत्र रहेको सडक निर्माण गर्न पटक–पटक ताकेता गर्दा पनि बिरुवाले यसमा कुनै अग्रसरता नदेखाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो ।

“बेलहिया बजार क्षेत्रमा सबैले सास्ती खेप्नुपरेको देखिएपछि ठेकेदार कम्पनी, आयोजना कार्यालयलगायत सम्बन्धित निकायमा काम सम्पन्नका लागि पटक–पटक आग्रह गर्दै आएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भन्नुभयो, “बिरुवाले स्थानीय तहको आग्रह अटेर गर्दै आएको छ ।” ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले सौन्दर्य अभिवृद्धि, भौतिक पूर्वाधारलगायतका योजना सञ्चालन गर्नमा समेत समस्या परेको उहाँको भनाइ छ ।

पौडयाल जस्तै गुनासो सिद्धार्थनगर नगरपालिका प्रमुख ईश्तियाक अहमद खाँको पनि छ । हराभरा, सुन्दर सिद्धार्थनगरको परिकल्पनामा ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन बाधा बनेको नगर प्रमुखको गुनासो छ । आयोजना नगरपालिका मातहत नहुँदा ठेकेदार कम्पनी उपर कुनै किसिमको कारवाही प्रकियासमेत अघि बढाउन नसकेको उहाँको भनाइ छ । 

यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनका प्रतिनिधिलाई पटक–पटक सम्पर्क गर्दा सफल हुन सकेन । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।