दिगो पर्यटन विकासका लागि ‘पर्यटन दशक २०२३–२०३२’ आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ

RSS २०७९-०५-२७ ०६:५१:०० बजे

काठमाण्डौ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासका लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताउनुभएको छ ।

पर्यटन दशकको अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आज आयोजना गरिएको अन्तरक्रियामा उहाँले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड–१९ महामारीले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न पर्यटन दशकको अवधारणा अघि सारिएको बताउनुभयो ।

पर्यटनमन्त्री श्रेष्ठले पर्यटन विकासका लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्ने बताउँदै यसको समग्र विकासका लागि निजी क्षेत्र अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । 

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन दशकको अवधारणापत्र प्रस्तुत गर्दै नेपालले दीगो रूपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकाले यसबाट लाभ लिन यो अवधारणा अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले सन् २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको बताउनुभयो ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसँग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने र यो अवधारणालाई मूर्त रूप दिन सकिने बताउनुभयो । पूर्वसभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसँग सम्बन्धित छुट्टै संसदीय समिति आवश्यक रहेको बताउनुभयो ।

पर्यटन क्षेत्रका छाता संस्था, वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताका लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले यस्ता कार्यक्रम गर्दा निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासँगै यसको विस्तृत कार्यक्रम र बजेटको सुनिश्चितता आवश्यक भएको बताउनुभयो । 

अर्का वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणा र वरिष्ठ पर्यटन व्यवसायी विजय अमात्यले भ्रमण दशकको कार्ययोजना ल्याउन मन्त्रालयलाई सुझाव दिनुभयो । पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीले दशक मनाउँदा हरेक वर्षलाई कुनै एक थिममा राखेर मनाउँदा उपयुक्त हुने बताउनुभयो । 

कार्यक्रममा प्यासिफिक एशिया ट्रावल एशोसिएशन (पाटा) इन्टरनेशनलका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे, बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय दीपक महत र गणेश सिंखडा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोला, पर्यटन व्यवसायी विक्रम पाण्डे, अशोक पोखरेललगायतले पर्यटन दशकका रूपमा काम गर्दा सरकार र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्दै ठोस कार्य योजना ल्याउन सुझाव दिनुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।