बैतडीमा बन्द हवाई सेवा पुन: सञ्चालनको तयारी

RSS २०७९-०६-०३ ०७:१०:०० बजे

काठमाण्डौ।सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । 

यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिनुभयो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । असोज ८ गतेदेखि शनिबार नियमित रुपमा उडान हुने भट्टको भनाइ छ । “दसैँ तिहारको बेला यात्रु नियमित चाप हुन्छ”, उहाँले भन्नुभयो, “असोज ८ गते शनिबार यहाँ फ्लाइट हुने जानकारी आएको छ, त्यसपछि नियमित रुपमा उडान हुन्छ ।” यसअघि बिहीबार हुँदै आएको हवाइ सेवा असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको छ ।  

नियमित रुपमा यहाँ हवाई उडान हुने भएपछि यहाँ नागरिक खुसी भएका छन् । हवाई उडान नियमित हुँदा आकस्मिक रुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान सहज हुने स्थानीय कपिल केसीले बताउनुभयो । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा ८ घण्टा लाग्ने गर्दछ । यसअघि यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भए पनि अब नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।   

बैतडी–धनगढी हवाई भाडा अबदेखि रु पाँच हजार कायम गरिएको छ । यसअघि रु चार हजार छ सय रहेको थियो । गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा रु चार हजार छ सय थियो । बैतडीबाट धनगढी १७ मिनेटमा पुगिन्छ ।  

हवाइ कम्पनिले तोकेको भाडा महँगो भएको यात्रुहरुको गुनासो गरेका छन् । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागरथी भट्टले बताउनुभयो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनःसञ्चालनमा आएको हो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाई सेवा सुरु भएको थियो । पछि विसं २०५२ देखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।