गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

अर्थबिट २०७९-०६-०९ ०४:५३:०० बजे

काठमाण्डौ।पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । 

कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । गड्डाचौकी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढ्दो रहेको अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्ट बताउनुहुन्छ ।

“यहाँबाट अहिले तेस्रो मुलुकका नागरिकलाई प्रस्थान बन्द गरिएको छ, विदेशी पर्यटक भित्रिने क्रम भने बढ्दो छ”, उहाँले भन्नुभयो, “कोरोना नियन्त्रणसँगै नाका खुलेपछि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।”

अध्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्कअनुसार आठ महिनाको अवधिमा एक सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ मा ५८ जना पर्यटक गड्डाचौकीबाट भित्रिएका थिए । सन् २०२२ को जनबरीमा १५, फेब्रोरीमा सात, मार्चमा २९, अप्रिलमा २२, मेमा २२, जुनमा २९, जुलाइमा २८ र अगष्टमा ४१ जना तेस्रो मुलुकका नागरिक भित्रिएको अध्यागमन अधिकृत भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । उक्त नाका भएर नेपाल भित्रिनेमा फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक बढिरहेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।