चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने

अर्थबिट २०७९-०६-०९ १३:३२:०० बजे

काठमाण्डौ।चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ । 

दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारीसाधनलाई जतासुकै चल्न रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ । सवारीसाधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको छ छैन जाँच गर्ने र सवारीसाधनको अवस्था जाँच गरिने कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नाकामा जाँच बढाउन लागिएको छ ।” 

उपत्यकाबाट बाहिरिने मात्रै नभई उपत्यकाभित्रै चल्ने सवारीसाधनलाई लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि दसैँमा धेरै सवारीसाधन बाहिरिएर सडक खुकुलो हुँदा चालकले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटनाको सम्भावना बढी हुँदा यो समयमा थप जाँच गर्न लागिएको छ । चाडपर्वका समयमा एकै पटक धेरै सवारीसाधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारीसाधन व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ ।

प्रवक्ता भट्टले भन्नुभयो, “चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको छ ।” यात्रुको गुनासो सम्बोधनका लागि विभाग, व्यवसायी र ट्राफिक प्रहरी सम्मिलित यात्रु सहायकता कक्षको स्थापना गरिएको छ । त्यो सम्बोधन नहुँदा १०० र १०३ मा पनि सम्पर्क गरेर गुनासो राख्न सकिने उहाँले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।