उदयपुरको पहाडी क्षेत्रमा सवारी भाडादरमा मनपरी वृद्धि

अर्थबिट २०७९-०६-११ १५:१३:०० बजे

काठमाण्डौ।दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क्षेत्र जाने अधिकांश यात्रुले मारमा परेको गुनासो गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहाडी क्षेत्रका अधिकांश यातायात व्यवसायीहरुले रु एक हजारदेखि एक हजार पाँच सयसम्म सवारी भाडा वृद्धि गरेको यात्रुहरुको गुनासो छ ।

दश दिन अगाडिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु पाँच सयदेखि छ सयसम्म सवारी भाडादर भए पनि अहिले दसैँ नजिकै आउन थालेपछि प्रतियात्रु रु एक हजार बढेको ताम्लिछाका यात्रु देवराज राईले बताउनुभयो ।

यता जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे डिल्लीबर हुँदै माझखर्कसम्म पुग्नका लागि अहिले रु सात सयबाट सवारी भाडा वृद्धि भएर रु एक हजार पाँचसय पुगेको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि नेपालटार, भलायाडाँडासम्म ३० किलोमिटरदेखि ५० किलोमिटर सडक खण्डको भाडादर अहिले रु एक हजारले वृद्धि भएपछि मारमा परेको उदयपुरगढी पञ्चावतीका दुर्गाकेशर खतिवडाले बताउनुभयो ।

दसैँको बेला टाढाबाट दसैँ मान्न जसरी पनि गाउँ पुग्नुपर्ने भएकाले यातायात व्यवसायीहरुले भनेको जति भाडा दिन आफूहरु बाध्य हुन परेको अधिकांश यात्रुको गुनासो छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।