भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

अर्थबिट २०७९-०६-११ १२:५०:०० बजे

काठमाण्डौ।विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान गर्नुभएको हो । 

कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक जर्मनीका एन्ड्री, अष्ट्रियाका रेवेका,  बुल्गेरियाका मिमी र जर्जलाई लाखे प्याखं ९नाच०का साथ भक्तपुरमा स्वागत गरिएको थियो । 

भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको प्रकाशन, काठको मयुरको झ्याल प्रदान गर्नुभएको थियो । नगर प्रमुख प्रजापतिले पर्यटकबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो ।

नगरपालिकाले पर्यटकको लागि आवश्यक स्थानीय पथप्रदर्शकको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाको प्रशिक्षण दिनुका साथै विभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।