दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

धनबहादुर गुरुङ २०७९-०६-१६ ०१:५२:०० बजे

काठमाण्डौ।वर्षायाम सकिएसँगै  फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । 

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताउनुभयो । पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उहाँको भनाइ थियो । यसरी फेवातालमा डुङ्गा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिनुभयो । “कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो”, उहाँले भन्नुभयो, “कोरोना घटेपछि पाहुना आएर डुङ्गा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ ।” पहिले दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्नुहुने गुरुङले अहिले दैनिक रु आठ सयसम्म कमाउनुहुन्छ ।

पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आउनुभएका समिर मानन्धरले बताउनुभयो । गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउनुहुने उहाँ दसैँ बिदाको मेसोमा पोखरा आउनुभएको हो । पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुङ्गा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उहाँले सुनाउनुभयो ।

चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । पोखरा आएका पर्यटक फेवातालमा डुङ्गा चढ्न हुरुक्कै गर्ने कारण डुङ्गा चालक व्यस्त हुन थालेको उहाँको भनाइ छ ।

फेवातालका आठवटा घाटबाट डुङ्गा सञ्चालन हुने गर्छ । अहिले ती सबै घाटका डुङ्गा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुङ्गा छन् । ती डुङ्गा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुङ्गा व्यावसायी सङ्गठनले अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताउनुभयो । “बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको रु ६० भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो”, कुँवरले भन्नुभयो, “यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ ।” 

दसैँको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुङ्गा व्यवसायी र चालक खुसी भएको कुँवरले बताउनुभयो । पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुङ्गा चढ्ने गरेको उहाँले जानकारी दिनुभयो । सोही कारण फेवातालका डुङ्गा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।