लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

सुमनजङग थापा २०७९-०६-१६ ०४:२२:०० बजे

काठमाण्डौ।“कस्तो आङ्नै जिरिङ् भो । दसँैंमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई ।”, 

बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भन्नुभयो, “बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो । सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन् ।” 

“हाम्रो दसैँमा टीका छैन । आज कुश्मा बसेर भोलि बिहान मुस्ताङ हिँड्छौँ ।”, श्रीमतीसहित हार्नेस् जिपलाइनको ज्वाइन्ट पिङ खेल्ने तयारीमा बस्नु भएका ललितपुरका राकेश मानन्धरले भन्नुभयो, “हाम्रोमा त्यो बाबियोको पिङ देख्न छाडेको त धेरै वर्ष पो भएछ । हामी चाहीँ लिङ्गे पिङको मज्जा अब यही पिङमा लिन जाँदैछौँ । हल्का डर लागिरहेको छ ।”  

पर्वतमा द क्लिफ प्रालिले बञ्जीसँगै गुलेली पिङ पनि सञ्चालन गर्दै आएको छ । बञ्जी गर्न डर मान्ने र थोरै पैसामा कालीगण्डकी नदीलाई उचाइबाट रोमाञ्चित तरिकाले नियाल्न चाहनेको रोजाइँमा गुलेली पिङ पर्ने गरेको छ । अर्को हार्नेस जिपलाइन परिसरमा रहेको दुईजना साथमै खेल्न सकिने ज्वाइनट पिङमा पनि मान्छेले पिङको मज्जा लिइरहेका छन् । 

“मान्छेको भीड् बढेको छ । विभिन्न ठाउँबाट दसँैं मनाउन गाउँ आएका एकपटक कुश्मा घुम्न जाउँ साहसिक खेलको मज्जा लिऔँ भन्ने देखिएको छ ।”, हार्नेस जिपलाइनका सञ्चालक नरेन्द्र केसीले भन्नुभयो, “दसँैं भएर पनि होला पिङ खेल्ने धेरै हुनुहुन्छ ।” 

दसैँं अघिसम्म सुस्ताएको पर्यटन व्यवसाय घटस्थापनको दिनदेखि चहलपहल बढ्दै गएको द क्लिफका सञ्चालक नेत्र पराजुलीले बताउनुभयो । “दसैँमा एकपटक भए पनि भूँइ छाड्नुपर्छ भनेर पनि हुनसक्छ बञ्जी, स्वीङ, पिङ, स्काइ क्याफे, साइकलिङ गर्ने बढ्नुभएको छ ।”, उहाँले भन्नुभयो । 

केही वर्ष अघिसम्म पनि कुश्माका ठाउँठाउँमा बाँसका चारवटा लिङ्गा गाडेर बाबियोको लठारो बाटेर पिङ हाल्ने गरिन्थ्यो । पछिल्लो समय बढ्दो सहरीकरण र आधुनिकताले पिङ संस्कृतिको महत्वलाई घटाएको पाका पुस्ताको बुझाइ छ । 

“पिङ हाल्ने ठाउँ सबै घरले भरिएका छन् । हामी बुढेसकाल लाग्यौँ भर्खरका केटा मोबाइलमा भुलेका छन् । दसैँं त विर्सन लाका छन् अब पिङको के कुरा गर्नु र, खै ।”, ८२ वर्षका खडान्नड पौडेलले भन्नुभयो ।   

“हाम्रो पालामा महिनौँदेखि दसैँको प्रतिक्षामा बस्थ्यौँ, राम्रा लुगा कहिले लाउन पाइएला, सेलरोटी मासु कहिले खाना पाइएला भनेर साथीभाइमा कुरा हुन्थ्यो ।”, नेपाली कांग्रेसका जिल्ला उपसभापति डा चँुडामणि शर्माले भन्नुभयो, “एकहप्ता अघि चर्के पिङ, लठे पिङ टोलटोलमा हालेर एकअर्काबीच कसको पिङ राम्रो र कहाँ बढी मान्छे जम्मा भए भनेर प्रतिस्पर्धा नै हुने गथ्र्यो ।”

लोप हुँदै गएको लिङ्गे पिङ सहरबाट लगभग विस्थापित भइसकेको छ । युवा पनि रोजगार र अध्यनका लागि विदेश र सहर पसेका छन् । गाउँमा युवा पाउन मुस्किल भएको छ । “मनोरञ्जनका विभिन्न साधन र माध्यम छन् पिङ खेलेर मनोरञ्नन लिनुपर्छ भन्ने कुरा युवाले मान्न छाडिसके, उनीहरुमा पिङ संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने सोँच पनि देखिँदैन ।”, फलेवास नगरपालिकका प्रवक्ता अच्युत तिवारीले भन्नुभयो । 

“पिङका लागि आवश्यक बाँस, काठ आदि सामग्री खोज्न झन्झटिलो, पट्यार लाग्दो हुने र समूहमा काम गर्नुपर्ने हुँदा मुस्किल हुन्छ ।”, कुश्माका युवा अमृतप्रसाद पौडेलले भन्नुभयो, “आफ्नो चल्दै आएको परम्परा र संस्कृतिलाई निरन्तरता दिन मन नभएको कहाँ हो र ? धेरै साथी विदेश छन् कोही सहरतिर, उही हतारहतार दसैँमा आउँछन्, गाउँमा आएपछि जुवा र खानपीनमै रमाउने भएपछि उनीहरुलाई पिङ किन चाहियो ?”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।