नेपालगञ्ज विमानस्थल : ‘सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउँछन्’

अर्थबिट २०७९-०६-२६ ०८:२२:०० बजे

काठमाण्डौ।नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६०  उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर, यति व्यस्त रहने विमानस्थलमा आएको एक्स–रे मेसिन अझै सञ्चालनमा आएको छैन । 

सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँले मेसिन खरिद गरेर आइसकेको छ, प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारणहरू रहेको भन्नुभयो । उहाँले भन्नुभयो, “मेसिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेसिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ । उक्त सेड निर्माण गरेपछि मेसिन जडान गरेर सुचारु गर्छौं ।” उहाँका अनुसार अझै तिहारभन्दा अघि मेसिन सञ्चालनमा आउने सम्भावना छैन । 

मेसिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूका सानातिना सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एकवटा एक्स–रे मेसिन छ । कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान चेकजाँच गरिरहेको छ । विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरुले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेसिन अत्यावश्यक रहेको छ । 

कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ । सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महत्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ । ल्याइएको मेसिन अहिले खुला आकासमा राखिएको जनाइएको छ  । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।