यस वर्षको सिकार पर्यटन याम सुरु,आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

तारानाथ आचार्य २०७९-०६-२७ १७:०२:०० बजे

काठमाण्डौ।नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् ।

असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । 

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको छ ।

असोज अन्तिम सातादेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज नेपाल, हिमालयन सफारिज र टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत अमेरिकी, मेक्सिकाली र क्यानाडाली नागरिकले सिकारका लागि अनुमति पाएका छन् । 

सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत वर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको सिकार भएको थियो ।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी छ ‘ब्लक’ मा सिकार गर्न अनुमति दिइएको छ । पहिलो यामका लागि बुर्तिबाङ ब्लकमा कुनै पनि सिकारीले सिकार गर्ने छैनन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको अनुभव छ । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु २० देखि २२ लाख खर्च गर्ने सिकार पर्यटन व्यवसायी बताउँछन् । 

यो वर्ष नाउरको न्यूनतम मूल्य रु १५ लाखदेखि अधिकतम २१ लाख ४० हजार प्रतिवटा र झारलको न्यूनतम रु एक लाख १० हजारदेखि अधिकतम छ लाखसम्म राजस्व तिरेर सिकारी सिकारका लागि तयार भएको कँडेल बताउनुहुन्छ । नेपाल ट्राभल एक्सपिडिसन प्रालि काठमाडौँमार्फत पहिलो याममा अमेरिकी नागरिकले एउटा नाउरको सिकार गर्नेछन् । सिकार आरक्ष कार्यालयका अनुसार उनलाई सिकारका लागि गुस्तुङ ब्लक तोकिएको छ ।  

ग्लोबल सफारिज नेपालमार्फत तीन जना सिकारीले दुई नाउर र एक झारलको सिकार अनुमति पाएका छन् । क्यानाडाली नागरिकले नाउर र अर्का दुई जना अमेरिकी नागरिकले एक नाउर र एक झारलको सिकार अनुमति यो कम्पनीमार्फत पाएका हुन् । फागुनेमा एक नाउर र वार्षेमा एक नाउर एक झारलको सिकार गर्न उनीहरुले अनुमति पाएका हुन् । 

सिकारीले हिमालयन सफारिजमार्फत तीन नाउर र दुई झारलको सिकार अनुमति पाएका छन् । उनीहरु मेक्सिकाली र अमेरिकी नागरिक हुन् । दोगडी, सुनदह र सेङ ब्लकमा उनीहरुलाई सिकारका लागि अनुमति दिइएको छ । टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत दुई अमेरिकी नागरिकले दुई नाउर र दुई झारलको सिकार अनुमति पाएको सिकार आरक्ष कार्यालयले जनाएको छ । 

“यो वर्षदेखि नेपालीका लागिसमेत सिकारको अवसर हुनेगरी बँदेलको सिकार खुला गरिएको थियो तर अहिले प्राप्त जानकारीअनुसार कसैलाई पनि अनुमति दिइएको छैन्”, प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “केही आवेदन परेको जानकारी आएको थियो, थप प्रक्रियाका विषयमा विभागले जानकारी गराउनेछ ।” सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले सिकार गराउने अनुमति पाउने गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।