काठमाण्डौ।खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको(नेप्से सिम्बोल पीपीएल) प्रति शेयर रु. १०० अंकित मूल्य को ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सम्पन्न भएको छ । आज बिहीबारको दिन पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्ज बीच सूचीकरण सम्झौता सम्पन्न भएको हो ।
पिपुल्स पावर लिमिटेडकोे प्राथमिक शेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत शेयर बिक्री खुल्ला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ६,३२,६०० कित्ता (१०%), सर्वसाधारण लगानीकर्ता शेयरधनीहमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४,६७,४०० (३९ %) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२,२६,००० कित्ता (५१ %) शेयर समेत गरी जम्मा ६३,२६,००० कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।
यसैबीच बिहीबार नै सयपत्री हाईड्रोपावर लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकरण भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सयपत्री हाईड्रोपावर लिमिटेड(नेप्से सिम्बोल एसपीएचएल) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय काठमाण्डौ जिल्ला, चावहिलमा रहेको र सूचीकरण पश्चात् दिनु पर्ने च्त्क् सेवा एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाण्डौबाट हुनेछ ।