काठमाण्डौ।इष्टर्न हाइड्रोपावर लिमिटेडले आज असोज २८ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले कार्तिक १ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।
आयोजनाको कुल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार ४९४ रुपैयाँ रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत रु.२६ करोड ११ लाख ७४ हजार ६९८ रहेको कम्पनीले जनाएको छ ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले गत आवको अपरिष्किृत विवरण अनुसार प्रति शेयर आम्दानी रु.०.१५ रहेको उल्लेख गर्दै चालु आवमा प्रति शेयर रु.३.४६ हुने प्रक्षेपण गरेको छ । यसैगरी कम्पनीले दिइएको अपरिष्कृत विवरणमा गत आवको प्रति शेयर नेटवर्थ रु.७२.४९ रहेकोमा चालु आवमा रु.८१.४५ मात्रै हुने प्रक्षेपण गरेको छ । आव २०८१–८२ मा प्रति शेयर नेटवर्थ रु.९७.१३ रहने कम्पनीले प्रक्षेपण गरेको छ जुन अंकित मूल्य रु.१०० भन्दा पनि कम हो ।