शेयर बजारमा अब मूल्य उचालिने क्रम शुरु हुनसक्ने १० आधार

अमिर तिमिल्सिना २०७९-०६-२८ १०:४७:०० बजे

काठमाण्डौ।शेयर  बजारमा निराशाका दिनहरु अब सकिएर लगानीकर्ताहरु आशावादी हुन थालेका देखिन्छन् । पछिल्ला दिनहरुमा कारोबार रकम कम हुनु तर थोरै मात्रामा शेयरको मूल्य बढ्दै गएकाले पनि अब लगानीकर्ताहरुले डिप्रशेनको चरण पार गरेको मान्न सकिन्छ।

आगामी दिनहरुमा सेयर बजारमा आउने परिवर्तनका लागि यी कुरा र कारणहरु विचार गर्नुहोस्:

१. नयाँ ब्रोकर खोल्न धेरै लगानीकर्ताले शेयर बेचेर पैसा नहालुन भनेर अहिलेका ब्रोकरले लिएको रणनीतिको अवधि समाप्त भयो । यसका लागि उनीहरुले माग नबढाउने रणनीति लिएका थिए । 

२. असोज मसान्तमा सावाँ र ब्याज बुझाउन सेयर बेच्ने समय समाप्त भयो । अब बिक्री चाप आउँदैन ।

३. दशैमा आएको रेमिट्यान्स खर्च भएर बैंकमा फर्कदैछ । तिहार, छठ र ईदका लागि रेमिट्यान्स आउने क्रम जारी छ । 

४. चुनावमा खर्च हुने पैसा बजारमा छरिन्छ र बैंकमा जम्मा हुन्छ । 

५. अहिले चुनावी मौसम भएकाले ठूला आयोजनामा निजी क्षेत्रले लगानी बढाउँदैनन, पैसा शेयर बजारमै हालेर कमाउने दाउ खेल्छन् । 

६.अब बचत र मुद्धतीको ब्याज बढ्दैन, पहिले बढाएको निक्षेपको ब्याजका कारण देखाएर आधार दर बढाई कर्जाको दर केही बढाउँन सक्छन् । यसले कर्जाको माग कम हुनसक्छ, निक्षेपमा सकारात्मक प्रभाव पर्छ । 

७. शेयरको मूल्य धेरै घटेकाले खरिदकर्ताहरु आउनसक्छन् । मूल्य बढ्न थालेपछि मार्जिन कलको चाप पनि कम हुन्छ । 

८. २० करोड चुक्ता पूँजी भएका कम्तिमा ५० वटा नयाँ ब्रोकर आउँछन् । उनीहरुले संकलन गरेको पूँजी र उनीहरुले ल्याउने नयाँ लगानीकर्ताहरुको पैसाले शेयर बजारमा तरलता बढाउँन सक्छ । यही मौकामा पुराना ब्रोकर र खेलाडीले शेयरको मूल्य बढाएर नयाँ ब्रोकरको टाउकोमा हाल्ने रणनीति अख्तियार गर्नसक्छन् । त्यसले मूल्य बढाउने खेल खेल्न सक्छ । 

९.यसपटक नेप्सेमा सूचीकृत कम्पनीहरुले नगद लाभांशलाई नै जोड दिइरहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स,सिटिजन्स बैंक,कुमारी बैंक लगायतले नगद लाभांश नै घोषणा गरिसकेका छन् । बैंक तथा वित्तीय संस्था र अरु कम्पनीले नगद लाभांश वितरण गर्दा लगानीकर्ताको खातामा करिब ३० अर्ब रुपैयाँ नगद उपलब्ध हुन्छ र तरलता बढाईदिन्छ । यसले पनि खरिद चाप बढाउन महत्वपूर्ण भूमिका खेल्नसक्छ । 

१०. नेपालको शेयर बजारमा मूल्य खस्न थालेपछि  खरिदकर्ताहरु भाग्ने र ह्वारह्वारती मूल्य बढ्न थालेपछि र कतिपय बेला सर्किट माथि सर्किट लागेको कम्पनीमा लगानीकर्ताहरु ओईीरने प्रवृत्ति रहेकाले केही दिनसम्म अहिले जसरी नै मूल्य बढ्ने क्रम जारी रहेमा लगानीकर्तामामा विश्वास बढ्छ । सेयरको मूल्य बढ्न थालेपछि पहिले भागेकाहरु मात्रै फर्कदैनन्, नयाँ लगानीकर्ताको पनि ओईरो नै लाग्छ । 

शेयर बजार जोखिमको क्षेत्र भएकाले कसैको बहकाउमा नलागी आफ्नो लगानी रणनीति र जोखिमबहन क्षमता बलियो बनाएर आफ्नो निर्णयले मात्र लगानी गर्नुपर्छ । बजारको आफ्नै गति नियम हुन्छ, जसलाई अनुमान वा आँकलन गर्नु गाह्रो काम हो, कतिपय बेला त असंभव पनि हुन्छ । त्यसैले सेयरको मूल्य बढ्छ वा घट्छ भन्ने ग्यारेन्टी कसैले लिन सक्दैन ।

(तिमिल्सिना धितोपत्रको शेयर बजारमा सक्रिय लगानीकर्ता हुन्।)

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।