‘नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ’

अर्थबिट २०७९-०७-०३ ०९:४०:०० बजे

काठमाण्डौ।नेपाल युरेपेली सङ्घ (इयु) को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’बाट छिट्टै हट्ने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको हवाई सुरक्षा परिपालना दर विश्वस्तरभन्दा माथि रहेकाले छिट्टै इयुको सेफ्टी लिस्टबाट हट्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गरेको अडिट प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले अडिट प्रतिवेदनबाट उत्कृष्ट नतिजा आएकाले अब यो विषय लम्बिरहन नपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशको हवाई सुरक्षा प्रणालीमा व्यापक सुधार आएको र इयुअन्तर्गतको प्राविधिक टोलीले पनि नेपालले हवाई सुरक्षामा उल्लेखनीय प्रगति गरेको प्रारम्भिक प्रतिवेदन दिएकाले सबै कारणले हेर्दा हामी (नेपाल) सेफ्टी सूचीमा रहिरहनुपर्ने कारण छैन, यो कुरा इयुले बुझ्नुपर्छ ।”

महानिर्देशक अधिकारीले इयुले सुरक्षासूचीमा राखे पनि नराखे पनि मुलुकको हवाई उड्डयन क्षेत्रको सुधारको काम निरन्तर चलिरहने बताउनुभयो । “नेपाल इयुको सुरक्षासूचीमा अब लामो समय रहन सक्दैन, यो प्राविधिक विषय हो”, उहाँले भन्नुभयो, “देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि भएकाले हामी हवाई सुरक्षा प्रणाली सुधारमा कुनै पनि कसुर बाँकी राख्दैनौँ ।”

प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।

प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्य रहेको बताउनुभयो । अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको तथा प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेट र जनशक्तिको व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो ।

निर्देशक श्रेष्ठका अनुसार उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ । जसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ ।

उडान सुरक्षा मापन गर्न ‘सेफ्टी पर्फर्मेन्स इन्डिकेटर’ को प्रयोग सुरु गरिएको प्राधिकरणले जनाएको छ । ‘फिक्सविङ’ र ‘रोटर विङ’ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्बद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको निर्देशक श्रेष्ठले बताउनुभयो । 

त्यस्तै दुर्गम क्षेत्रको हवाई सुरक्षा सुदृढीकरण गर्न ‘प्रि–फ्लाइट सेफ्टी रिस्क असेस्मेन्ट’ लागू गरिएको छ । दुर्गम गन्तव्यमा मौसम पूर्वानुमान गर्न विभिन्न क्षेत्रमा ‘वेदरक्याम’ जडानको काम पनि सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले फ्लाइट अपरेसन, पर्सनल लासेन्सिङ र जहाज मर्मतसम्भार मापदण्ड इयुअन्तर्गत लागू गरिसकेको पनि निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

इयुको अडिटबाट नेपालको हवाई सुरक्षादर उत्कृष्ट

इयुअन्तगर्तको युरोपियन एभिएसन ‘सेफ्टी एजेन्सी’ (इआसा) को आडिटबाट नेपालको हवाई सुरक्षा अवस्था उत्कृष्ट देखिएको प्राधिकरणले जनाएको छ । इआसाको तीन सदस्यीय प्राविधिक टोलीले यही अक्टोबर ६ देखि ८ तारिखसम्म नेपालको समग्र हवाई सुरक्षा प्रणालीको अध्ययन तथा सरोकारवालासँग छलफल गरेको थियो ।

गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिट गरेको थियो । आइकाको १० सदस्यीय टोलीले हवाई सेवा प्रणालीका विभिन्न आठ क्षेत्रमा बृहत् अडिट गरेको थियो । जसमा नेपालले ७०.१ प्रतिशत उड्डयन सुरक्षा कायम गरेको छ । जुन विश्वको एभरेज दरभन्दा माथि रहेको छ । नेपालले प्राप्त गरेको स्कोर एशिया प्रशान्त क्षेत्र र विश्वस्तरको भन्दामाथि रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४.५ र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएका छन् । 

विश्व बैंकको विज्ञ टोलीले पनि नेपालको समग्र हवाई सुरक्षा प्रणालीको हालै अध्ययन गरेको छ भने हवाई सुरक्षा प्रणालीको अध्ययन गर्न अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेसनको टोली भोलि बिहीबार नेपाल आउन लागेको प्राधिकरणले जानकारी दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।