निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण सफल

अर्थबिट २०७९-०७-१५ ०९:२४:०० बजे

काठमाण्डौ।लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो ।

दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए । छ रुटमा पाँच बसमार्फत पाँच सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार तीन सय ८४ किलोमिटर यात्रा गरेको कोषले जनाएको छ ।

यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी–बेलहिया रुटमा सबैभन्दा बढी एक सय ६० पटक बस चल्दा पाँच हजार सात सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए । लुम्बिनी–तिलौराकोट रुटमा एक सय ३१ पटक बस चल्दा पाँच हजार ७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा दुई हजार दसई सय ७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा एक हजार तीन सय ४६ यात्रुले सेवा लिएको पौडेलले बताउनुभयो । 

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । उहाँले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि तयारी गरेको बताउनुभयो । उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।