नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न महासङ्घको आग्रह

अर्थबिट २०७९-०७-२२ १०:२१:०० बजे

काठमाण्डौ।नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल कोरियाबीच रहेको आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल गर्दै उक्त आग्रह गर्नुभएको हो ।

उहाँले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताउनुुभयो । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले बाह्य लगानी ल्याउनेमा निजी क्षेत्रले सरकारलाई निरन्तर झक्झक्याइरहेको र सोही अनुसार बाह्य लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानुनहरु संशोधनसमेत भइसकेको  स्पष्ट पार्नुभयो ।

महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी सो भेटवार्तामा महासङ्घका तर्फबाट कोरियन उत्पादनमूलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ ऊर्जाको राम्रो प्रबन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैँ तयार रहेको बताउनुुभयो । महासङ्घले दिएका सुुझावको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वाससमेत उहाँले दिलाउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।