पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

अर्थबिट २०७९-०७-२३ ११:४१:०० बजे

काठमाण्डौ। काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । 

नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसीटिभी क्यामेरासमेत जडान गरिएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । डिपीआरअनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको लामाले बताउनुभयो ।

लामाका अनुसार ‘नमोबुद्ध भगवान घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती बेहोर्दै आएकाले यसप्रति विशेष ध्यान दिइएको लामाले बताउनुभयो ।

पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृखङ्ला देख्न सकिन्छ । बौद्ध धर्मवालम्बीले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । यस्तै ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । नगरले सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटेको छ । 

साथै नगरले युनेस्कोका नेपालस्थित प्रतिनिधिलाई औपचारिकरुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको छ । सूचीकृतका लागि प्रदेशस्तरबाटसमेत पहल भएको र सूचीकृतका लागि प्रशासनिक काम अघि बढिसकेको जनाइएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।