चितवन।आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी सरगर्मी बीच चितवन १ बाट प्रतिनिधि सभामा हरि ढकालको जीत ढुक्क भएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवन १ मा प्रतिनिधि सभाका सर्वाधिक बलियो उम्मेदवारका रुपमा रहेका हरि ढकालको सिट ढुक्क भएको हो ।
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली काङ्ग्रेसका नेता तथा अर्थशास्त्री विश्व पौडेल ढकालका निकटतम प्रतिस्पर्धी हुन् ।
यसपटकको चुनावी माहोललाई हेर्दा बारम्बार प्रयोग भएका पूर्व अर्थमन्त्री पाण्डेप्रति पूर्वी चितवनका अधिकांश भूभागमा मतदाताहरुले नैराश्यता प्रकट गरेका छन् । पूर्वी चितवनबासीको सो नैराश्यता यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा मत ओइरो लाग्ने प्रक्षेपण गर्न सकिन्छ । साथै ढकालकै अर्का प्रतिष्पर्धी विश्व पौडेल रिजर्भ स्वभाव र पूर्वी चितवनबासी सामु राम्ररी नभिजिसकेकै कारण सोको फाइदा ढकालकै पोल्टोमा पर्ने आंकलन गर्न सकिन्छ ।
उसो त हामीले पूर्वी चितवनका विभिन्न भेगका चिया पसलदेखि चोकचोकमा स्थानीय मतदातासँग बुझ्ने प्रयाससमेत गरेका थियौँ । मतदाताले परिवर्तनको प्यास देखाएको र पुराना दलप्रति वितृष्णा जनाउँदै ऊर्जाशील युवा उम्मेदवारका रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको चितवनको एक अध्ययनले देखाएको छ ।
राजनीतिमा सधैं दोहोरिरहने नेतृत्वप्रतिको फाइटलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिई उठेका उनै ढकाले युवा जागरण अभियानको शंखघोषको सूत्रपात गरेको बताएका छन् । ढकाल तिनै शेयर लगानीकर्ता हुन् जो पूँजीबजार विरोधीलाई नो भोट अभियानका थालनीकर्ताका रुपमा पनि चिनिन्छन् । आम सर्वसाधारणको अरबौं लगानी रहेको शेयर बजारमा प्रतिकूल नीतिगत व्यवस्था र प्रणालीविरुद्धको शंखघोष रहेको थियो । उनको त्यो अभियानले राष्ट्रिय राजनीतिमै हलचल र तरगंसमेत सिर्जना गर्यो । नेपाली राजनीतिका मूलधारका पार्टीका नेताहरुलाई शेयर बजारको नीतिगत व्यवस्था तथा प्रणाली अनुकुल बनाउन बाध्यसमेत पारेको उनको अभियानले पछिल्लो समय नेपाल धितोपत्र बोर्डको कदमहरुले समेत प्रमाणित तथा छर्लङ्ग पारेको छ ।
चितवनमा ज्योतिष ढकालको नातिका रुपमा सुपरिचित हरि ढकाल बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् । खासगरी पूँजीबजारमा उनको विशेष पहिचान रहेको छ । परम्परागत शेयर कारोबार प्रणालीलाई विस्थापित गर्दै शेयर बजारमा पूर्ण अनलाइन कारोबार प्रणाली र प्राकृतिक बजार सञ्चालका निम्ति उनले आमरण अनशन बसेपछि राष्ट्रिय राजनीतिको समेत केन्द्रविन्दू बनेका थिए ।
ढकालसहित लगानीकर्ता दबाब समूहकै कारण नेपाल स्टक एक्सचेञ्जले पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको ४ वर्ष बितिसकेको छ र दोस्रो बजारको पहुँच अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेको छ ।
अहिले पनि अभियन्ताकै रुपमा रहेका ढकाल स्पष्ट र प्रष्ट वक्ताका रुपमा आम लगानीकर्ताहरुका बीचमा सुपरिचित र प्रिय पात्र हुन् । उनै ढकालले पूँजीबजार प्रति लगाएको गुणलाई तिर्न देशभरका विभिन्न स्थानबाट शेयर लगानीकर्ताहरु उनको चुनावी अभियानमा स्वतःस्फूर्त रुपमा प्रचारप्रसारमा सहभागिता जनाइरहेका छन् । काठमाण्डौबाट शिवचन्द्रका नामले सुपरिचित पुरुषोत्तम चिमोरियाको टिम,काकाका रुपमा सुपरिचित केशव कोइरालाको टिम,बुटवटबाट नेपाल पूँजीबजार लगानीकर्ता संघको टिम,झापाबाट सुवासचन्द्र भट्टराईलगायतले उनको चुनावी अभियानमा साथ र समर्थन जनाइरहेका छन् ।
यो चुनावमा युवाहरुको आगमन निकै बाक्लिएको छ । चितवन आफैंमा विद्रोही जिल्लाका रुपमा चिनिन्छ । गठबन्धनको केही तागतमा उम्मेदवार भएका विश्व पौडेलप्रति काङ्ग्रेसीहरुबाट अन्र्तघातको गन्ध आइसकेको छ । केही काङ्ग्रेसीहरु कार्यकर्ताहरुले क्रस भोटिङ गर्ने छलफललाई तीव्रतासमेत बनाएको चर्चा केही दिनयता चलेको छ । यता पूर्व अर्थमन्त्री पाण्डे २ पटक सोही क्षेत्रबाट सांसद भइसकेका छन् । मतदातालाई रिझाउन सक्ने र जनसम्पर्क बलियो भएका पाण्डेप्रति चितवनबासीले यसपटक स्वतन्त्रको देशव्यापी लहडमा होमिन सक्ने प्रबल सम्भावनालाई बढावा दिएको छ । आजकल छिटो रिजल्ट चाहने नागरिक युवालाई अगाडि सार्दै चितवनको भविष्य रेखा कोर्न आतूर रहेको चितवनबासीका मनमुहारमा झल्किन थालेको छ । जसको सकारात्मक प्रभाव हरि ढकालको पल्ला भारी हुनेमा चितवनबासी ढुक्क छन् ।