नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

अर्थबिट २०७९-०८-१५ ०९:२२:०० बजे

काठमाण्डौ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको जनाइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार साताको दुई दिन (आइतबार र मङ्गलबार) काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौँ आउनेछ ।

यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।