शिखर पावर डेभलपमेन्टको करिब १० लाख कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थबिट २०७९-०८-२० १२:५७:०० बजे

काठमाण्डौ।शिखर पावर डेभलपमेन्ट लि.ले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ९ लाख ९२ हजार ५८०  कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । हिजो सोमबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा शिखर पावर डेभलपमेन्ट लि. को  तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

वि.सं.२०७२ सालमा स्थापना भई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस शिखर पावर डेभलपमेन्ट लि. को रजिष्टर्ड कार्यालय काठमााण्डौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । शिखर पावर डेभलपमेन्ट लि. को अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको यस कम्पनीद्वारा निर्माणाधीन बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित “भिमखोला साना जलविद्युत आयोजना (४.९६ मे.वा.)” आयोजना निर्माणको चरणमा रहेको र झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ । यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना “लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.)” पनि प्रबद्र्धन भईरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्य बताउँछन् । शिखर पावर डेभलपमेन्ट लि.मा मुख्य लगानिकर्ताका रुपमा शिक्षा, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्यातिप्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।