कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग

अर्थबिट २०७९-०८-२४ ०९:३८:०० बजे

कर्णाली।कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ ।

दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको बताउनुभयो ।

“गमगढीसम्म सडक जोडिए पनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यावसायिक हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँका बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो ।” यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा सेवारत नेपाल एयरलायन्स, सीता, तारा र समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ । मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सको हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सकेमात्र यहाँका नागरिकलाई सहजता मिल्ने प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । 

अनलाइन टिकट वितरण सञ्चालनमा ल्याउन जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सर्वदलीय बैठक बसेरै यसअघि निर्णय गरिसकेको बताउनुभयो । कर्णालीको हवाई उडानको समस्या सामाधानका लागि पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले गत असोज ३० गते संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत सरोकारवालालाई ध्यानाकर्षणसहित मागपत्र बुझाएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।