राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल

अर्थबिट २०७९-०८-२५ ०७:१०:०० बजे

काठमाण्डौ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।”

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उहाँले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाउनुभयो । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उहाँले भन्नुभयो, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउनुभएका उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको जनाउनुभयो ।

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान कुरा रहेको बताउनुभयो । “हामीसँग श्रम छ तर पूँजी छैन भने सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “यो कोणबाट अगाडि बढ्न सकिए सङ्गठनले जीवन्तता र गतिशीलता पाउँछ ।”

सम्पन्न बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इञ्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीहरूबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।