बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया

अर्थबिट २०७९-०८-२९ ०१:११:०० बजे

काठमाण्डौ।नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा हिजो बुधबार बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने, क्षति भएको जानकारी पाउनासाथ सर्भेयरलाई खटाउनुपर्ने, सर्भेयरले दिएको अनलाइन रिपोर्टलाई मान्यता दिनुपर्ने, सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, बीरगञ्ज प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताए । 

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दैजाने विचार व्यक्त गरे ।

बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक कालीकान्त झा र बीमा सर्भेयरहरुको सहभागिता रहेको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।