बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा शङ्कास्पद लगानी नियन्त्रण गर्न प्राधिकरणका अध्यक्ष सिलवालको कडा निर्देशन

अर्थबिट २०७९-०९-१४ ०२:४५:०० बजे

काठमाण्डौ।नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाण्डौमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरूद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर ‘गो एएमएल’ बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा शङ्कास्पद लगानी नियन्त्रण गर्नका लागि सबै बीमा कम्पनीहरूले ‘गो एएमएल’ सफ्टवेयर कार्यान्वयनमा ल्याई शङ्कास्पद कारोबारहरूका बारेमा अनिवार्य रुपमा समयमा नै वित्तीय जानकारी इकाई (एफआइयु) मा पठाउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोबार नियन्त्रणका लागि तर्कबितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानून बमोजिम काम गर्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिए ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोबार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोबार गर्न, शङ्कास्पद लगानीका बारेमा जानकारी दिन परिपालन अधिकृतको मात्र भर नपरी प्रमुख कार्यकारी अधिकृत स्वयम् जवाफदेही बन्न र आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईका प्रमुख दीर्घ बहादुर रावलले कानूनी र आर्थिक रूपले उद्देश्य स्पष्ट नभएका लगानी जोखिमयुक्त हुने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र कारोबारमा शङ्का लाग्ने बित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमा क्षेत्रमा शङ्कास्पद लगानी भित्रिन नदिनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने कार्यहरू सम्बन्धी प्रस्तुति दिए । 

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गरेको कार्यक्रममा नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल र नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले मन्तव्य व्यक्त गरे । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।