आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

अर्थबिट २०७९-०९-२७ ०१:१६:०० बजे

काठमाण्डौ।सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । 

कम्पनीले कूल जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने चार लाख ३६ हजार आठ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । 

स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा आगामी माघ १९ मा हुनेछ भने ढिलोमा आगामी फागुन ५ बन्द हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि माघ १९ गतेभित्र आवेदन दिनुपर्ने छ ।

स्थानीयले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड  छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई ओलामा नौ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।