‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

अर्थबिट २०७९-०९-२९ ०७:२६:०० बजे

काठमाण्डौ। यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । 

कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार-पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ । उहाँले भन्नुभयो, “तत्काल छाप्नलाई अभाव छैन र यो सकिँदासम्म अर्काे आइपुग्छ भन्नेछ ।”

अहिले अघि बढाइएको खरिद प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ । अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उपलब्ध बजेट जतिको कार्ड खरिद गर्न आह्वान भएको छ, अझै थपिएमा बढी कार्ड किन्न सकिन्छ ।”

हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्काे एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ । दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्नसक्ने उहाँले बताउनुभयो । अहिले झण्डै सात लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापिएर सक्ने गरी योजना बनाएको छ ।  

विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ । वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बढी हुँदा खेर जाँदैन, तर नेपालको खरिद प्रक्रिया लामो हुनेहुँदा किन्दा धेरै गर्नसके हुन्थ्यो भन्ने छ ।” 

विगत वर्षहरुमा उपकरणको क्षमता कमीले मात्रै होइन कार्डको अभावका कारण समेत अनुमतिपत्र छपाइ सुस्त रहेको थियो । केही वर्षयता विभिन्न समस्याका कारण सेवाग्राहीले सजिलोरुपमा अनुमतिपत्र पाइरहेका छैनन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।