नेपाल एयरलाइन्सले इलाम–काठमाण्डौ उडान सुरु गर्ने, ५० प्रतिशत भाडा छुट

अर्थबिट २०७९-१०-०१ १७:१२:०० बजे

इलाम।नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाण्डौ उडान सुरु गर्नेभएको छ  । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत  भएको छ ।

एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ ।

विमानबाट इलाम–काठमाण्डौ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब ८ बजे काठमाण्डौबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताउनुभयो । उहाँले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाण्डौको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ ।काठमाण्डौबाट इलामका लागि भने एकतर्फी भाडा रु छ हजार पाँच सय तोकिएको छ  । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।