सगरमाथा जलविद्युतको आइपीओ बिक्री खुला

अर्थबिट २०७९-१०-०५ १२:५०:०० बजे

काठमाण्डौ।सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । 

कम्पनीले आफ्नो जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजनाबाट पीडित क्षेत्र इलामवासीका  लागि निष्काशन गरेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने चार लाख ३६ हजार आठ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि पनि निष्काशन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । 

स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सम्बद्ध  क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही माघ १९ गतेसम्म हुनेछ भने ढिलोमा आगामी फागुन ५ गतेसम्म हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि यही माघ १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर बिबिबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई खोलामा नौ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।