विज्ञ भन्छन्– “हामी बुल रनको सुरुवाती चरणमा छौँ र अहिलेको बजार चाहिँ लगानीको लागि उपयुक्त हो”

अर्थबिट २०७९-१०-१६ ०१:०३:०० बजे

काठमाण्डौ।धितोपत्रको दोस्रो बजार सुस्तरी लयमा आउँदैछ । केही समयअघि दैनिक कारोबार रकम १ अर्ब रुपैयाँ हाराहारी मात्रै हुँदै आइरहेकोमा हाल औसतमा अढाई अर्ब रुपैयाँ भइरहेको छ । कुल बजार पूँजीकरण २६ खर्ब रुपैयाँसम्म ओर्लिएको धितोपत्र बजारमा हाल ३१ ऋर्ब रुपैयाँ नाघिसकेको छ । 

अर्थमन्त्रालयको बागडोर सम्हाल्न विष्णुप्रसाद पौडेलको पुनरागमनलाई धितोपत्र बजारका प्रायः शेयर लगानीकर्ताहरुले रुचाएका छन् । नेप्से परिसूचक २ हजार नाघ्ने कयौं प्रयास विफल भयो तर अर्थमन्त्रीका रुपमा विष्णुप्रसाद पौडेलको आगमनले आम शेयर लगानीकर्ताहरुको आत्मविश्वास बढ्न गई छोटो समयमै २२ सय विन्दूसमेत पार गर्यो । चुनावी ताका प्रतिज्ञा गरिएका नगद भारतीय रुपैयाँ बजारमा छरिन थालेको जसका कारणसमेत तरलतामा झिनो राहत हुनसक्ने चर्चा चलेको छ । छोटो समयमा करिब ३०० अंकको बढोत्तरीमा केही दिनयता भने सामान्य उत्तारचढाव मात्रै देखिएको छ । 

पछिल्लो समय नेप्से परिसूचक २ हजार १५० विन्दू आसपास नै रहेको छ । बजारको यो पछिल्लो परिदृष्यले शेयर लगानीकर्ताहरुमा पुनः द्विविधा उत्पन्न भइरहेको छ । शेयर खरिद गर्ने कि बिक्री गरी बस्ने भन्ने द्वन्द्वात्मक अवस्था नै हालको बजारले चित्रण गरेको छ । 

पछिल्लो समयमा शेयर बजारको अवस्था र आगामी यात्राका विषयमा हामीले पूँजीबजार विज्ञ हेमन्त बस्यालसँग जिज्ञासा राखेका छौं । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरको राजनीतिक सिद्धान्त समान रहेकाले समेत सोको प्रभाव बजारमा सकारात्मक परेको उनको जिकिर छ । “सरकारको प्राथमिकता तथा सहजीकरण अनि गभर्नरको झुकाव सरकारप्रति ढल्किन थालेकाले पनि बजारले आशा जगाइदिएको छ”,उनले भने,“कच्चा तेलको भाउ १४९ बाट ८० डलरसम्म ओर्लिदा आगामी दिनमा यसले समेत राम्रै प्रभाव पार्ला । उसो त पछिल्ला केही समयमा रेमिट्यान्स पनि लगातार बढ्दो क्रममै पनि छ ।”

विज्ञ बस्यालसँग शेयर बजारको अबको आगामी यात्रा कता होला भन्ने प्रश्नमा बुल रनको सुरुवाती चरणमा रहेको ठोकुवैसमेत गरे । “बजारमा उत्तारचढाव हुँदै बजार अब माथि नै जानेछ”,उनले अर्थबिटसँग कुराकानीका क्रममा भने । 

सुशासन,पारदर्शिता र असल व्यवस्थापनले हाँकेका आधारभूत रुपमा राम्रा कम्पनीमा अध्ययन गरी अहिले लगानी गर्न बस्यालले सुझाए । ‘रिलेटिभ भ्यालू’ कम भएका र ‘अण्डरभ्यालुअल ’कम्पनीहरु छानीछानी लगानी अहिले उपयुक्त समय रहेको उनको विश्लेषण छ ।

नेप्से परिसूचक १८ सय नै बटम हो कि?भन्ने जिज्ञासामा बस्याल बजार जहिले गतिशील हुने भएकै कारण ठ्याक्कै तल्लो र माथिल्लो विन्दू भन्न नसकिने बताउँछन् । “यद्यपि बृहत अर्थतन्त्रबाट हेर्दा भने बजारले तल्लो विन्दूबाट भने माथि उक्लिसकेको छ ।”,उनी दाबी गर्छन् । 

‘कन्ट्रारियन इन्ट्रिन्सिक भ्यालू’ लगानीकर्ता हुने हो भने अहिलेको बजार चाहिँ लगानीको लागि उपयुक्त रहेको बस्यालको ठहर छ ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।