जनवरीमा भित्रिए ५५ हजार पर्यटक

अर्थबिट २०७९-१०-१८ ०९:१३:०० बजे

काठमाण्डौ।अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गर्नुभयो । 

जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ ।

सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ । 

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । 

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।