काठमाण्डौ।शेयर बजारका सम्बन्धमा एउटा निक्कै प्रचलित भनाइ छ –"शेयर बजार एउटा समुद्र हो, जहाँबाट कति मोती निकाल्ने भन्ने कुरा आफूमा भर पर्छ ।"
भनिन्छ, शेयर बजारमा ९० प्रतिशत मानिसले आफ्नो सम्पत्ती गुमाउँछन भने १० प्रतिशत मानिसले अथाह सम्पत्ति कमाउँछन् । नेपाली शेयर बजारलाइ सुक्ष्म रुपले अध्ययन गर्ने हो भने यो कुरा सत्य नै हो कि भन्ने ज्ञात हुन्छ । आखिर शेयर बजारमा निक्कै कम मानिसले कमाउने र अधिकांशले गुमाउने अवस्था कसरी बन्छ त ? सफल लगानीकर्ताले अपनाउने त्यस्ता रणनीतिहरु के हुन जसले उनीहरुलाइ सफल बनाउँछ, आज म यिनै विषयमा छोटो चर्चा गर्ने कोशिश गर्नेछु ।
१.उपयुक्त रणनीतिको प्रयोगः नेपालको शेयर बजारमा शर्ट सेलिङ उपलव्ध नभएका कारण यो बाइ बजार हो अर्थात् नेपाली बजारमा आफ्नो डिम्याटमा शेयर नभए सम्म बेच्न सकिंदैन । हाम्रो बजारका मुलत ३ वटा फेजहरु हुन्छन, बुल,बियर तथा साइडवेज । बजारका यी ३ वटै फेजका फरक फरक विशेषता हुने भएका कारण हाम्रो रणनीति पनि यिनै विशेषतासँग मिल्दाजुल्दा बनाउन आवश्यक छ । सफल लगानीकर्ताले सधैँ बजारको ट्रेण्ड चिनेर सोही बमोजिमको लगानी रणनीति अपनाउने गरेका कारण धेरै जसो समय उनीहरु सफल रहन्छन ।
२.अनुशाशनको पालनाः एउटा खेलाडी सफल हुनुका पछाडि उसले गरेको वर्षौंको मिहिनेतले काम गरेको हुन्छ । सोच्नुहोस त ओलम्पिकमा स्वर्ण पदक जित्नका लागी एउटा खेलाडीले कति वर्षदेखी लगातार मिहिनेत गरिरहेको हुन्छ । शेयर बजारमा पनि सफल लगानीकर्ताले वर्षौं मिहिनेत गरिरहेका हुन्छन र आफ्ना लागि एउटा राम्रो कारोबार योजना तयार पारेका हुन्छन । एउटा राम्रो कारोबार योजनामा Entry Point, Exit Point, Risk Management, Risk to Reward Ratio, Stop loss, Take Profit लगायतका विषयहरु पूर्ववत रुपमा निर्धारित गरिएको हुन्छ र उनीहरु सो रणनीतिलाई Perfectly Execute गर्ने गर्दछन । सफल लगानीकर्ताले आफ्ना लागि निर्धारण गर्ने अर्को रणनीति Emotion Control पनि हो । तपाईंलाई थाहा छ धेरै जसो लगानीकर्ताले पैसा गुमाउने मुख्य कारण आफ्नो Emotion हो । डर, लोभ, फोमो, आशा जस्ता मानवीय संवेदनामाथि सफल लगानीकर्ताले धेरै हद सम्म नियन्त्रण राख्न सफल हुन्छन ।
३.ट्रेडिङ जर्नलः शेयर बजार यस्तो क्षेत्र हो जहाँ आफूले गर्ने गल्तीले धेरै कुरा सिकाउँछ। सफल लगानीकर्ताले सुरुवाती समयमा गरेका आफ्ना गल्तीहरुबाट सिकेर बजारमा आफूलाई पोख्त बनाएका हुन्छन । हामीले थुप्रै सफल लगानीकर्ताका सफलताका कथाहरु त विभिन्न माध्यमबाट हेरेर– सुनेर थाहा पाएकै हुन्छौं तर निकै कम लगानीकर्ताले मात्र आफूले गरेका गल्तीहरुका बारेमा भन्ने गर्छन । बजारका सम्वन्धमा एउटा राम्रो अनुभव हासिल नहुन्जेल सम्मका लागि आफूलाई सफलताको दिशामा अग्रसर राख्नका लागि गर्न सकिने एउटा काम ट्रेडिङ जर्नल तयार पार्नु हो । यो एउटा एक्सल सिट या नोटबुक जस्तो सुकै रुपमा पनि राख्न सकिन्छ । यसमा कुनै स्टक किन्दा त्यो स्टक त्यो लेभलमा किन किनियो , त्यसमा रिस्क रिवार्डको अपेक्षा के छ , प्रोफिट बुक वा स्टप को लेभल कुन हो स्टक बाइ गरिसकेपछि आफ्नो इमोसन कस्तो रह्यो तथा त्यसले आफूले अपेक्षा गरेको नाफा दियो कि दिएन साथै स्टप लस हिट भएको भए सो को कारण उल्लेख गर्न सकिन्छ । यसरी तयार पारिएको जर्नल हरेक हप्ता चेक गर्ने बानीको विकास गर्नुपर्छ जसका कारण एउटै गल्ती बारम्बार हुने सम्भावना कम हुन्छ र गल्तीबाट पाठ सिक्दै एउटा सफल लगानीकर्ता हुने दिशामा अगाडि बढ्न सहज हुन्छ ।
४.होप ट्रेडिङः नेपाली शेयरलगानीकर्ताहरुका बीचमा एउटा उखान निक्कै प्रचलित छ “नेपाली लगानीकर्ता ट्रेडर बनेर बजारमा छिर्छन, अनि इन्भेष्टर बनेर निस्कन्छन ।” भनाइको तात्पर्य के हो भने हामी अधिकांस लगानीकर्ता समयमै लस मिनिमाइज गर्ने अर्थात स्टप लस गर्ने गर्दैनौं र पेपर मात्र लस भएको त हो नि, एकदिन त बजार माथि गई हाल्छ नि, भनेर कुर्छौं । बजार सधैँ हामीले सोचे जस्तो या चाहे जस्तो हुँदैन। हामी बजार केही समयका लागि घटेको त हो फेरि फर्किहाल्छ नि भनेर आफ्नो बाइ पोजिसनमा बसिरहन्छौं अर्थात आशाका कारण समयमै आफ्नो लस मिनिमाइज गर्दैनौं । आशा राख्नु राम्रो कुरा हो तर शेयरबजारमा गरिने आशाको व्यापार घाटाको प्रमुख कारण हो । होप ट्रेडिङका कारण हामी ट्रेडिङ अवधिभरि एउटा मानसिक तनावका अवस्थामा त रहन्छौं नै साथै लामो समय आफ्नो फण्ड फ्रिज रहेका कारण अवसरात्मक लाभ उठाउन समेत बन्चित हुन्छौं । तसर्थ शेयर बजारमा लामो समय टिक्नका लागि होप ट्रेडिङ आजै बन्द गर्ने विषयमा सोच्न जरुरी छ किनकि सफल लगानीकर्ता होप ट्रेडिङ गर्दैनन्।
५.ओभर ट्रेडिङः हामी धेरैजसो औसत लगानीकर्ताले गर्ने अर्को प्रमुख गल्ती चाहिनेभन्दा बढी ट्रेडिङ गर्नु हो । एउटा सफल लगानीकर्ता बन्नका लागि प्राथमिक शर्त भनेको आफ्नो एउटा ट्रेडिङ् सिस्टम बनाउनु र सो सिस्टमलाइ अनुशासित तवरले अनुशरण पनि गर्नु हो । तर हामी बजारमा हुने उतारचढावमा बिना कुनै योजना ट्रेडिङ माथि ट्रेडिङ गर्न थाल्छौं जसका कारण हाम्रो रिस्क म्यानेजमेन्ट डामाडोल बन्न पुग्छ । परिणामतः ब्रोकरलाई सधैँ फाइदा पुग्छ भने आफूलाई सधैँ घाटा ।
६.पूर्वनिर्धारित विचारः विचार या धारणा शेयर वजारमा सबैभन्दा महत्वपूर्ण औजार हो । हामी प्रायः बजार खुल्नुभन्दा अगावै बजारका बारेमा आफ्नो धारणा बनाइसकेका हुन्छौं र बजारमा सो अनुसार ट्रेडिङ गर्छौं जबकि सफल लगानीकर्ता बजारले गर्ने व्यवहारलाइ हेरेर आफ्नो ट्रेडिङ प्लानलाई कार्यान्वयन गर्छन जसका कारण उनीहरु ९० प्रतिशत समयमा सही हुने गर्छन । त्यसैले बजारका बारेमा पूर्ववत् धारणा बनाउनु भन्दा बजारको अवस्था हेरेर सो बमोजिमको निर्णय गर्ने बानीको विकास गर्नुपर्छ ।
७.अध्ययनको कमीः एकपटक सोच्नुहोस त एउटा शाखा अधिकृतको जागिर खान हामी कति वर्षको औपचारिक शिक्षा लिएका हुन्छौं ? कम्तीमा १६ वर्ष । तर शेयर बजारमा लगानी गर्नका लागि हामी सामाजिक सञ्जालमा आउने अभिव्यक्तिहरुलाई नै अध्ययनको प्रमुख आधार बनाएका हुन्छौं । मेरो अनुभवका आधारमा म यो भन्न सक्छु कि सामाजिक सञ्जालबाट प्राप्त हुुने विचारका आधारमा गरिने लगानीले अधिकांश समय घाटा नै दिएको हुन्छ । त्यसैले दैनिक कम्तीमा १ घण्टा बजारका बारेमा स्वअध्ययन गर्ने बानी बसाल्ने हो भने तपाईंलाई सफल लगानीकर्ता हुन कसैले रोक्न सक्दैन ।
(गौतम नेपाल टेलिकममा लेखा अधिकृतका रुपमा कार्यरत कर्मचारी हुन् ।)