आइएफआर प्रणाली लागू गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

अर्थबिट २०७९-११-०७ ०८:३४:०० बजे

काठमाण्डौ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएको छ ।

यही फागुन ११ गते बिहीबार अर्थात् फेब्रअरी २३ तारिखदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

पोखरामा आइएफआर कार्यान्वयनमा आउने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको छ ।

आइएफआर प्रणाली पूर्ण यान्त्रिक सञ्चालन प्रणाली भएको र भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा आइएफआर उडानमा केही समय लाग्ने भए पनि तुलनात्मक रुपमा सुरक्षित र सहज रहेको प्राधिकरणले जनाएको छ । पोखराको नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान–अवतरणमा उपयुक्त रहेको मानिएको छ । कोरियन र बिज एयरसँग एक सय ९० सीट क्षमताको ए३२१ निओ जहाज रहेको बताइएको छ । हिमालयले न्यारोबडी जहाज एयरबस ३२० बाट पोखराको परीक्षण उडान गरिसकेको छ । 

इच्छुक कम्पनीका जहाज, यात्रु क्षमता र उडान गर्न चाहेका गन्तव्यलगायत प्राविधिक पक्षबारे प्रष्ट छलफल हुने बाँकी रहेको प्राधिकरणले जनाएको छ । गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।