तपाईंलाई आइपीओ पर्नै छाड्यो, के बाँडफाँडमा धाँधली हुन्छ हो ?

अर्थबिट २०७९-११-२८ ११:१९:०० बजे

काठमाण्डौ । कुनै पनि कम्पनीको आइपीओ निष्कासनमा माग गरेभन्दा बढी आवेदन परेको खण्डमा बाँडफाँड गर्दा एउटा बलको सहायता लिइन्छ । 

आजै सनराइज क्यापिटलले आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँड गर्यो । १५ लाख ३८ हजार ४६६ आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथा अर्थात् बलले निर्धारण गरेको छ । आइपीओ बाँडफाँड कसरी हुन्छ ? किन त्यो बल निकालिन्छ होला ?

वास्तवमा तपाईंलाई आइपीओ पर्ने वा नपर्ने मुख्य निर्धारण गर्ने माध्यम नै त्यही बल हो । एउटा खाली टोकरीमा १ अंकदेखि ९ अंकका बल(टेबलटेनिस बल) सबैले देख्ने गरी राखिन्छ । सोही १ देखि ९ अंकमध्ये सुरुमा १० कित्ता पर्न सोही एउटा बलले नै निर्धारण गर्दछ । नियामक निकाय,कम्पनीका पदाधिकारी, निश्कासनकर्ता, मिडिया र सर्वसाधारणको उपस्थितिमा आइपीओ बाँडफाँड हुने चलन छ । जुन पछि सो प्रमाण लाहाछाप हालेर आइपीओ निष्कासन गर्ने कम्पनीलाई पठाइन्छ ।

आज आत्मनिर्भर लघुवित्तको आइपीओ आइपीओ पर्ने नपर्ने भन्दै धेरै व्यग्र प्रतिक्षामा छन् । 

यो आइपीओ निष्कासनलाई बाँडफाँड गर्ने जिम्मा हाल पीसीएस सफ्टवेयर कम्पनीले गर्दै आइरहेको छ ।

प्राप्त आवेदनलाई सुरुमा नामाकरण गरिन्छ । जस्तै एप्लिकेन्ट वान टू थ्री । त्यसपछि विभिन्न डीपीबाट आइपीओ आवेदन डीपी कोड किटान हुन्छ । सो कोडमा कतिजनाले आवेदन दिए र कुल संख्या कति हो डेटा प्रविष्ट हुन्छ । आवेदनको नामअघि ५ वटा शून्य अंक राखी ६ डिजिटको बनाइन्छ ।त्यसपछि बन्ने सो नम्बरलाई रिभर्स(उल्टो) बनाइन्छ । अनि सो रिभर्स नम्बरलाई एसेन्डिङ(बढ्दो क्रम)मा सर्ट गर्ने काम हुन्छ । सर्ट गरेपछि प्राप्त नम्बर नै अन्तिम सिम्बल नम्बरका रुपमा दर्ज हुन्छ ।

अब बाँडफाँड प्रक्रियामा इस्यू शेयर र आवेदनको संख्या किटान गरिन्छ । नेपाल धितोपत्र बोर्डले लागू गरेको समावेशी नीतिअनुसार सुरुमा सबैले १० कित्ताका दरले सेयर प्राप्त गर्ने नियम छ । सो नियमलाई अक्षरशः पालना गरिन्छ ।मानौं ५० कित्ता शेयर इस्यू भएको छ भने आवेदन संख्या १० जना भएमा आइपीओ ५ जनाले हात पार्छन् । अझ अहिले त वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई समेत आइपीओमा १० प्रतिशत आरक्षणको नयाँ प्रावधान रहेको छ । 

आइपीओ बाँडफाँड प्रक्रियामा सुरुमा अघि राखेको टोकरीबाट १ नम्बरदेखि ९ नम्बरमध्ये ।कसैलाई सबैका सामु देखिने गरी बल थुत्न लगाइन्छ । मानौं बल थुतियो अब बल नम्बर ७ परेमा अघि विभिन्न प्रक्रियाद्वारा र्याण्डम्ली छनौट गरी तयार गरिएको अन्तिम सिम्बल नम्बरको ७ नम्बरमा परेकाले १० कित्ता शेयर हात पार्दछन् । अब दोस्रो पाउने व्यक्ति भनेको ७ नम्बरमा स्किप भ्यालू वा सम्भावना नम्बर जोडिँदै जान्छ । यो स्किप भ्यालू वा सम्भावना नम्बर भनेको चाहिँ कुल आवेदन संख्यालाई आइपीओ पर्ने संख्या अर्थात् अघि ५० सेयरलाई १० जनाले पाउने सम्भावनाले भाग गर्दा आउने ५० लाई पहिलो थुतेको बलमा जोडिदै जान्छ । यसमा दशमलव पछाडिका अंकलाई मानिँदैन अर्थात् केबल अगाडिका नम्बरहरुलाई मात्र गणना गरिन्छ ।

यो प्रक्रियाअनुसार सुरुमा थुतेको बल ७ नम्बरमा स्किप भ्यालू ३.८ अंक जोडिन्छ र १० कित्ता पाउने दोस्रो व्यक्ति सोही १० नम्बर हो । यसैगरी सो १० नम्बरमा स्किप भ्यालू जोडिँदै अर्को तेस्रो व्यक्तिलाई आइपीओ हात लाग्छ । यो क्रमलाई सफ्टवेयर कम्पनीको सिस्टमले नै एकमुष्ट रिजल्ट दिन्छ ।

यसकारण हिजोआज गरिने बाँडफाँड प्रक्रिया निकै पारदर्शी हुन्छ । तपाईंलाई आइपीओ पर्ने मुख्य निर्धारण वा भूमिका नै सुरुमा थुतिएको बलको नम्बर हो । सोही पहिलो बलको नम्बरले नै बाँकी आवेदकले पाउने शेयरको निर्धारण गरिदिन्छ । 

आइपीओ बाँडफाँडको कार्यक्रम औपचारिक रुपमा सकिएपछि नतिजा केही समयपछि प्रकाशन गरिन्छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ। पहिलो बिक्री प्रबन्धकको वेबसाइट , दोस्रोमा सिडीएससीको मेरोशेयरको वेबसाइट, सिडिएससीले आइपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट  हेर्न सकिने व्यवस्था रहेको हुन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।