पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द

अर्थबिट २०७९-११-२८ ०९:२९:०० बजे

दमौली।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । 

उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि  सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । 

उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उहाँले बताउनुभयो । राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ । उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । 

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५दशमलव पाँच प्रतिशत छ । उहाँका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।