ताप्लेजुङ्ग । अनलाइन सेक्युरिटीज लिमिटेडले ताप्लेजुङ्गमा एकदिने शेयर बजार सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अनलाइन सेक्युरिटीज लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वित्तीय सप्ताह २०२३ को सन्दर्भमा लगानीकर्ताहरुको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ ‘सचेतनामुलक कार्यक्रम’ गर्न लागेको हो ।
ताप्लेजुङ्ग उद्योग वाणिज्य संघ फुङलिङमा आगामी चैत्र ११ गते शनिबार बिहान ११ बजे सचेतना कार्यक्रम हुने आयोजकले बताएका छन् । उक्त कार्यक्रममा शेयर कारोबार कसरी गर्ने, प्राथमिक बजार तथा दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने, कम्पनी छनौट गर्ने तरिकाहरु, लगनीलाई सुरक्षित बनाउने उपायहरु, टेक्निकल तथा फण्डामेन्टल एनालाइसिसका टुल्सहरु र यसले बजारमा पार्ने प्रभाव, पोर्टफोलियो ब्यवस्थापन के हो र कसरी गर्ने, अल्पकालिन कारोबार र दीर्घकालीन कारोबारका फाइदा तथा बेफाइदाहरु, टिएमसको प्रभावकारी संचालन, कम्पनिका बितिय विवरण अध्ययन र त्यसले बजारमा पर्ने प्रभाव लगायतका विषयहरुमा छलफल हुने अनलाइन सेक्युरिटीजले जानकारी दिएको छ । कार्यक्रममा शेयर बजारको बारेमा जानकार व्यक्तिहरुबाट छलफल तथा प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रममा शेयर बजारमा कारोबार गरिरहेका लगानीकर्ताहरु, नवप्रवेशी लगानीकर्ताहरु वा प्रवेश गर्न उपयुक्त समयको पर्खाइमा रहेका महानुभावहरु सबैको लागि प्रवाभकारी हुने अनलाइन सेक्यरिटीजले दाबी गरेको छ । शेयर बजारसँग जानकार राख्ने जोसुकैले सहभागिता जनाउन सक्ने उक्त कार्यक्रममा सहभागी भए बापत कुनै शुल्क तिर्नु पर्ने छैन ।
ताप्लेजुङ्गबासीलाई सहज ढङ्गले सुलभ सेवा दिने उद्देश्यका साथ सञ्चालन हुने यस कार्यक्रमा इच्छुकहरुले सोही समयमा टिएमएस अकाउन्ट बनाउन पनि सक्नेछन् । साथै उक्त दिनमा डिम्याट खाता खोल्दाको शुल्क र एक वर्षसम्मको सञ्चालन शुल्क पनि नलाग्ने अनलाइन सेक्युरिटीज धरान शाखा प्रमुख सुजन निरौलाले बताए । “आशा छ यस कार्यक्रमले ताप्लेजुङ्ग लगायत आसपासका क्षेत्रमा रहेर सेयर कारोबार गर्दै रहनु भएका र कारोबार गर्न इच्छा राख्नु हुने महानुभावहरुका लागि केही सिक्ने, बुझ्ने र लगानीलाई प्रभाकारी बनाउन सहयोग पुग्नेछ । धरान मै रहेर पनि ताप्लेजुङ्गबासीलाई ब्रोकरेज सम्बन्धी जुनसुकै सेवा प्रदान गर्न अनलाइन सेक्युरिटीज लि, धरान शाखा सधैं तत्पर छ ।”,बुधबार पत्रकार सम्मेलनमा निरौलाले भने ।
अनलाइन सेक्युरिटिज लि. ब्रोकर न ४९, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०६८ सालबाट सेयर कारोबार गर्दै आएको संस्था हो । हाल नेपालमा सञ्चालित ५० वटा ब्रोकरमध्ये कारोबारको हिसाबमा आफुलाई अग्रपंक्तिमा राख्न सफल भइरहेको छ । काठमाण्डौको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको यस अनलाइन सेक्युरिटीज लि.ले केन्द्रीय कार्यालय सहित हाल धरान, उर्लाबारी, नुवाकोट, बर्दिबास लगायतका शाखाहरुबाट ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । कार्यक्रमको मुख्य आयोजक धरान शाखा यस संस्थाको पहिलो शाखा हो जो २०७४ सालदेखि सुनसरीको धरानमा ब्रोकरेज सेवा दिइरहेको छ ।