सङ्कटबीच पनि अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल

अर्थबिट २०८०-०१-२४ ०९:२८:०० बजे

गण्डकी।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताउनुभएको छ । 

बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारणसभामा  शनिबार उहाँले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताउनुभयो । 

“विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५/८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन् ।” 

अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गर्नुभयो । “अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्”, उहाँले भन्नुभयो, “यो अवस्थाबाट बाहिर निस्कन निजी क्षेत्र र सरकारले बलियो सहकार्य गर्नुपर्छ ।”

अध्यक्ष ढकालले कोभिड–१९, रुस–युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको बताउनुभयो । उहाँले आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको बताउनुभयो ।

“सरकारसँग लगातार संवाद भइरहेको छ, कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “सरकार, नियमनकारी या कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर सङ्कटको समाधानतिर लाग्नुपर्छ ।” निराशा मात्र बाँडेर नहुने भन्दै सकारात्मक कुराको प्रसार गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ढकालले राज्य सञ्चालनको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृहमन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको बताउनुभयो । अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उहाँको भनाइ छ । 

विभिन्न कार्यक्रममा भाग लिन गृह जिल्ला बागलुङ आउनुभएका अध्यक्ष ढकाललाई बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले सम्मान गरेका थिए । उहाँ आफ्नो जन्मगाउँ बागलुङ–१२ अमलाचौर पुग्नुहुँदा स्थानीयले बधाई साटेका थिए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।