बाँकेका होटेलमा आउने अतिथिका लागि दुई छाक खाना र कोठा निःशुल्क हुने

अर्थबिट २०८०-०२-०१ ०७:०१:०० बजे

नेपालगञ्ज।बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् । 

केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष तथा सङ्घका केन्द्रीय सदस्य भीमलाल कँडेलले जानकारी दिनुभयो । 

उहाँले उक्त प्याकेज जेठ महिनाका लागि मात्रै भएको जानकारी दिँदै अहिले चार होटेलले मात्रै गरेको तर केही दिनपछि सबैले प्याकेजको घोषणा गर्ने बताउनुभयो । “एक महिनाभरि यसको कस्तो परिणाम आउँछ, त्ससको समीक्षा गर्छौं र पुनःयसलाई निरन्तरता दिन्छौँ”, उहाँले भन्नुभयो । खास गरी महाआरतीमा सहभागी हुन आउने भारतीय पर्यटकको बसाइँ लम्ब्याउन सो प्याकेज घोषणा गरेको बताइएको छ । 

नेपालगञ्जको गणेशमान चोकमा रहेको होटेल इन्द्रेणीले होटेलमा आउने अतिथिका लागि दुई छाक खाना निःशुल्क गरेको छ । बागेश्वरी हल रोडमा रहेको अप्सरा होटेलले बास बस्नका लागि होटेलका कोठामा ५० प्रतिशत छुट गरेको छ । स्वर्गद्धारी होटेलले एक छाक खाना निःशुल्क र दङ्गाली होटेलले दुई जनालाई होटेलमा कोठा निःशुल्क हुने जनाएको छ । 

होटेल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खडकाले अहिले पर्यटकका लागि सुरुआत मात्र भएको उल्लेख गर्दै सबै होटेल व्यवसायीलाई प्याकेज घोषणा गर्न आह्वान गरेको बताउनुभयो । उहाँले सङ्घको निर्णयानुसार उक्त प्याकेज घोषणा भएको जानकारी दिनुभयो । बाँकेमा साना तथा ठूला गरेर करिब तीन हजार बढी होटेल सञ्चालनमा छन् । 

बागेश्वरी मन्दिरमा सुरु भएको महाआरतीपछि धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ । मन्दिर आउने भक्तजनलाई लक्षित गरेर सो प्याकेज ल्याइएको जनाइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।