नेप्सेमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत, भोलि कतिमा हुँदैछ कारोबार ?

अर्थबिट २०८०-०३-१९ ०१:१५:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण शेयर सूचीकरण भएको छ ।

आज(मंगलबार)रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकरण भएको हो । 

आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेड (नेप्से सिम्बोल आरएडब्लुए) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २८,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय वासिन्दाहरु र कर्मचारीहरु समेत) मा वितरण गरिएको ८४०,००० कित्ता (३०प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको १९,६०,००० कित्ता (७० प्रतिशत) शेयर (धितोपत्र) समेत गरी जम्मा २८,००,००० कित्ता (१०० प्रतिशत) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम गत असार १७ गतेको निर्णयानुसार स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो । 

यसैबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात् भोलि(बुधबार) स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडलाई रु.८३.१० देखि २४९.३० तोकेको छ । सोही सीमाभित्र रही भोलि स्पेशल प्रिओपन सेसनमा कारोबार भएमा नियमित कारोबार समयमा उक्त कम्पनीको धितोपत्र किनबेच गर्न मिल्नेछ  ।  

कम्पनीको प्रधान कार्यालय काठमाण्डौ जिल्ला, बानेश्वर रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंबाट हुने छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।