दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क

अर्थबिट २०८०-०३-२४ ०७:५५:०० बजे

काठमाण्डौ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८  बजेदेखि उपलब्ध हुने बताउनुभएको छ ।

सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ । अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”

मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उहाँले यसबाट हजाराँै सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको छ भन्नुभयो ।

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा स्वास्थ्योपचारलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । व्यवहारमा त्यो छैन, अहिले पनि धेरै मानिसलाई अस्पताल पुग्न चुनौती छ, उपचार महँगो छ, औषधि पाइन्न । पाए पनि किन्न सकिन्न । पैसा नभएर उपचार नगरी घर फर्कनुपर्ने बाध्यता पनि छ ।”

नशा र जोर्नीसम्बन्धी उपचारमा थेरापी पद्धतिलाई गाउँ–गाउँमा पुर्याए औषधि नै प्रयोग गर्नपर्ने अवस्था भए विजेन नेपाल धेरैको भाग्यविधाता बन्न सक्ने बताउँदै उहाँले प्रत्येक व्यक्तिलाई स्वास्थ्य हुन एक घन्टा शारीरिक व्यायाम गर्न सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले करिब तीन सय कर्मचारीको सहायतामा संस्कार र मुस्कानसहित दैनिक १२ हजारभन्दा बढी बिरामीलाई थेरापीका माध्यमबाट उपचार प्रदान गरिरहेको जानकारी दिनुभयो । ‘पैसा होइन, मानवता प्राथमिकता’ भन्ने नाराका साथ संस्थाले काम गरिरहेको बताउँदै उहाँले यो पद्धतिले समाजलाई अनुशासन, सभ्यता र संस्कार पनि सिकाइरहेको उल्लेख गर्नुभयो ।

संस्थाका कार्यकारी निर्देशक ज्ञानु लामिछानेले कोरियाबाट सुरु भई अमेरिका, चीन र भियतनाममा समेत ख्याति कमाएको वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको निःशुल्क कोरियन थर्मल थेरापी पद्धतिले स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धिका हिसाबले अब्बल सावित भएको बताउनुभयो ।

मुलुकमा स्वास्थ्योपचार महँगो भइरहेका बेला बहुउपयोगी पद्धति र उपकरणमार्फत मुलुकका ५८ केन्द्रबाट सेवा प्रवाह भइरहेको सो अवसरमा जानकारी दिइयो । उक्त थर्मल थेरापी पद्धति खासगरी नशा र हाडजोर्नीका बिरामीलाई निकै लाभदायी ठहरिएको संस्थाको दाबी छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।