साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू

अर्थबिट २०८०-०४-२४ १०:०८:०० बजे

काठमाण्डौ । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरिएको हो । 

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण सुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रशारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

विद्युत् उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवं एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११ दशमलव छ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पु¥याएको छ । तीन वटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट  वार्षिक रू ४० करोड आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताउनुभयो । 

विद्युत् गृह रहेको स्थान समुन्द्र सतहदेखि दुई हजार एक सय ८० मिटरको उचाइमा रहेको छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले एक सय एक दशमलव आठ मेगावाट विद्युत् उत्पादन गराएको छ । यसभन्दा अगाडि विसं २०६० मा २२ मेगावाट क्षमताको चिलिमे, विसं २०७१ मा पाँच मेगावाट क्षमताको मैलुङ्खोला र विसं २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिसुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।