हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाइनुपर्नेमा विज्ञहरूको जोड

अर्थबिट २०८०-०५-०५ ०८:२८:०० बजे

काठमाण्डौ ।  मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ ।

वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको सोमबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई उडानलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन सबै संयन्त्र सक्रिय रहेको बताउनुभयो ।

हवाई उडान मुलुकको अर्थतन्त्रसँग मात्रै नभई ‘कनेक्टिभिटी’ को उपयुक्त माध्यम भएकाले यसको अल्पकालीन र दीर्घकालीन सुधारको काममा यस्ता अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहसचिव लामिछानेले हवाई सेवा प्रदायकको क्षमता अभिवृद्धि, सहकार्यलाई थप सुदृढ बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका चाहिने उल्लेख गर्नुभयो ।

उहाँले हवाई दुर्घटनाको सम्भावित जोखिम न्यूनीकरणका लागि प्राविधिक पक्ष मात्र नभई व्यवस्थापकीय पाटो, दक्ष जनशक्ति र संस्थाभित्र स्वस्थ वातावरणको आवश्यकता अपरिहार्य भएको खाँचो औँल्याउनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक प्रेमनाथ ठाकुरले हवाई उडानलाई सुरक्षित र गुणस्तरीय बनाउन प्राधिकरणले नीतिगत र संरचनागत सुधारका प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

उपमहानिर्देशक ठाकुरका अनुसार हवाई सुरक्षा प्रणालीको सुधार र सुरक्षित उडानलाई लक्षित गर्दै प्राधिकरणले मौसम पूर्वानुमान महाशाखासँग सहकार्य गरेर मौसम पूर्वानुमानसम्बन्धी छुुट्टै ‘अब्जरभेसन’ गरिरहेको छ । पर्यटकीय सिजनलाई मध्यनजर गर्दै छिट्टै लुक्ला विमानस्थलको मौसमी गतिविधिको जानकारी लिन ‘इन रुटमा’ क्यामेराजडानलगायत उपकरणको व्यवस्था गरेर उडानलाई सुरक्षित बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “इन रुट वेदरको वास्तविक अवस्था के छ र आगामी दुई/तीन दिनको अवस्था कस्तो रहनेछ भनेर सम्पूर्ण इन रुट वेदरको मौसमी जानकारी लिनेगरी काम अगाडि बढाइएको छ । मुख्य पर्यटकीय गन्तव्यमा उडान हुने विमानस्थलमा यो प्रणाली विस्तार गर्दै लगिने योजना रहेको छ ।”

यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले हवाई सेवा सुरक्षा अभिवृद्धिका लागि नियामक र अपरेटरबीचको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो । कार्यक्रममा दुई दिन ‘ह्युमन फ्याक्टर’ र दुई दिन ‘एभिएसन सेफ्टी म्यानेजमेन्ट सिस्टम’ को बारेमा प्रशिक्षण दिइने सङ्घका महासचिव मनोज कार्कीले जानकारी दिनुभयो ।

स्वदेशी तथा विदेशी हवाई विज्ञहरूको प्रशिक्षण रहने कार्यक्रममा विभिन्न एयरलाइन्सका उडानसँग सम्बन्धित कर्मचारीको सहभागिता रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।